नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा
काठमाडौँ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन्।
आज ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाको सङ्घर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताएका हुन्। पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर सङ्घर्ष गरिरहेका बीपी राष्ट्रियता कमजोर भयो भनेर स्वदेश फर्कनु चानचुने कुरा नभएको उल्लेख गरे।
देउवाले आफूहरू राजनीतिका कठिन दिन भोगेर र सङ्घर्ष गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा राखे। बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबिचको मेलमिलापले राष्ट्र समृद्ध हुने उनको भनाई थियो। राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठुलो कुरा भएको बीपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताए। कोइराला राजनीतिज्ञ मात्रै नभई साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको देउवाले बताए।






