महाभारत गाउँपालिकामा कक्षा १२ सम्मको शिक्षा निःशुल्क
महाभारत गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । कार्यपालिकाको बैठकले शुल्क नलिई पठनपाठनको व्यवस्था मिलाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । गाउँपालिकाभित्रका ५० विद्यालयमा ६ हजार ५४ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । गाउँपालिकाको यो निर्णयसँगै ६ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क शिक्षाको अवसर पाएका छन् ।
गाउँपालिकाभित्रका सबै साधारण र प्राविधिक धारमा कक्षा १ देखि १२ सम्म भर्ना शुल्क, मासिक, विविध शुल्क र राष्ट्रिय परिक्षा बोर्डले लिने शुल्क बाहेक कुनै पनि शुल्क तिर्ननपर्ने गाउँपालिकाका अध्यक्ष जिम्बाले बताए ।
महाभारतमा प्राथमिक तहका विद्यालय ३२, आधारभुत ९, माध्यमिक ८ र एउटा प्रावधिक अर्थात कृषि बाली विज्ञान विषय अध्यापन गराउने विद्यालय सहित ५० शैक्षिक संस्था छन् । पुर्वप्राथमिक तहमा ७७८ जना, प्राथमिक तहमा २ हजार ४ सय १५, आधारभुत तहमा १ हजार ४ सय २७, माध्यमिक (९–१०) तहमा ९८१ र कक्षा ११ र १२ मा ४ सय ५३ जना विद्यार्थी अध्ययन गरिरहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए । श्री भैरव माध्यमिक विद्यालयमा कृषि अन्तर्गत बाली विज्ञान विषयमा अध्यापन भइरहेको छ । कक्षा ११–१२ अध्ययन हुने गोकुले मावि, घर्तिछापको जनकल्याण मावि र बुढाखानीको ग्रामोन्नती माविमा शुल्क लिएर अध्यापन हुँदै आएकोमा अब विद्यार्थीले शुल्क तिर्नुपर्ने छैन ।
विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन निःशुल्क शिक्षा सुरु गरिएको अध्यक्ष जिम्बाले बताए । यस्तै गरिव, विपन्न परिवारका बालबालिका आर्थिक अभावकै कारण शिक्षाबाट बञ्जित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निःशुल्क शिक्षा कार्यक्रम ल्याइएको उनको भनाई छ । शैक्षिक सुधारका साथै सक्षम जनशक्ति उत्पादनमा समेत यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाको विश्वास छ ।
यसअघि २०८२ जेठ ३० गते महाभारत अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित पालिका घोषणा भइसकेको छ । गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि ६० लाख भन्दा बढी रकम अनुदान दिएको छ । उक्त रकम न्युन दरबन्दी भएका विद्यालय, अतिरिक्त कक्षा सञ्चालन लगायत नविनतम शिक्षण सिकाई क्रियाकलापमा खर्च गरिन्छ ।






