भक्तपुरमा दिदीबहिनी मृत फेला
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
स्थानीयवासी निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल त्यही घरको प्यासेजमा मृत अवस्थामा फेला परेका हुन् ।
मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो । घरधनीका अनुसार दुई हप्ताअघिमात्र उनीहरू डेरामा बस्न आएका थिए ।
प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ । मृतकका आफन्त सम्पर्कमा आएपछि घटनास्थलको मुचुल्का हुने प्रहरी नायब उपरीक्षक ढुङ्गानाले बताए ।






