ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीद्वारा अवलोकन

भक्तपुर/ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीले आज अवलोकन भ्रमण गरेको छ। अस्पतालको स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिने उद्देश्यले टोलीका सदस्यहरुले ख्वप अस्पतालका सबै विभागहरुको स्थलगत अवलोकन गरेका हुन् ।

अवलोकनपश्चात आयोजित बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालले दैनिक एक हजारभन्दा बढी बिरामीहरुलाई उपचार सेवा दिँदै आएको बताउँदै जनताको सहयोगमा निर्मित ख्वप अस्पताले जनतालाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए। प्रमुख प्रजापतिले नगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरुमा धुलिखेल अस्पतालसँग पनि सहकार्य गर्दै अगाडि बढ्न सकिने धारणा व्यक्त गरे ।

नसर्ने रोगको पहिचान गर्न र नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी हासिल गर्न घरदैलौ नर्सिङ सेवा प्रभावकारी रहेको बताउँदै उनले विरामीहरूलाई सहजता र स्वास्थ्य सेवामा थप सुविधा प्रदान गर्न आवश्यक पहल गरिरहेको बताए। भक्तपुर नगरपालिकाले नगरबासीहरूलाई निःशुल्क अक्सिजन र निःशुल्क रगत प्रदान गर्दै आएको बताउँदै उनले हरेक वर्ष नयाँ नयाँ स्वास्थ्य उपचारका सेवाहरु विस्तार गर्ने नीतिअनुसार अस्पताल अगाडि बढिरहेको बताए ।

बैठकमा धुलिखेल अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.आभा श्रेष्ठले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल निकै सुविधासम्पन्न रहेको बताउँदै अस्पतालको सेवा सुविधाहरुबाट प्रभावित भएको बताए । धुलिखेल र ख्वप अस्पतालबीच सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताउँदै डा. श्रेष्ठले ख्वप अस्पतालको प्रसुती सेवा निकै प्रभावकारी रुपमा सञ्चालनमा आएको बताए।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ले अस्पतालको सेवा सुविधा र आ.व. २०८१।८२ मा अस्पतालले प्रवाह गरेको सेवा र आगामी योजनाबारे प्रस्तुतीकरण दिए। उनले ख्वप अस्पताल ३६५ दिन सञ्चालन हुने र दैनिक ११ घण्टा ओपीडी सेवा दिने अस्पताल भएको बताउँदै आ।व। २०८१।८२ मा २ लाख ८८ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको जानकारी दिए।

ख्वप अस्पताल अवलोकन भ्रमणमा धुलिखेल अस्पतालका डा. पुष्पाञ्जली अधिकारी, नर्सिङ निर्देशक डा.सुलेखा श्रेष्ठ, जनसम्पर्क अधिकृत डा. आभा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । टोलीले ख्वप अस्पतालका ओपडी सेवाहरू, अक्सिजन प्लान्ट, आकस्मिक कक्ष, नर्सिङ कलेज, छात्ती पुनःस्थापना केन्द्र, अस्पतालको औषधालय, ल्याब, ख्वप तीलगंगा आँखा अस्पताल, ब्रम्हायणीस्थित अन्तरंग सेवा, आईसियु, श्वासप्रश्वास पुनःस्थापना केन्द्रलगायतमा अवलोकन गरे ।

यसअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा ख्वप अस्पतालका प्रतिनिधिमण्डलसहित २०८२ असार १७ गते धुलिखेल अस्पतालको स्थलगत अवलोकन गरेको थियो ।