भिजिट भिसामा कुवेत हिँडेका ४७ नेपाली महिला दिल्लीबाट फर्काइए

काठमाडौँ / भिजिट भिसामा अवैध रूपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल फर्काइएको छ । दिल्लीस्थित नेपाली दूतावासको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइपुर्याइएको हो ।

दिल्ली विमानस्थलबाट आवश्यक कागजात (एनओसी) बिना नै कुवेतका लागि उड्न लागेको अवस्थामा उनीहरूलाई नेपाली दूतावासको टोलीले रोकेको थियो । दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार, हाल उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदैछ ।

यसैबीच, गृहमन्त्री रमेश लेखकले यस घटनालाई गम्भीरतापूर्वक लिँदै पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयका अनुसार, मन्त्री लेखकले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई घटनाको विस्तृत छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।