अपरिपक्व निर्णयले दुःखित तुल्याएको छः पुर्वराष्ट्रपति भण्डारी
पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको अपरिपक्व निर्णयले दुःखित तुल्याएको बताएकी छन् । आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले लोकतान्त्रिक मूल्यमान्यतालाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने आफ्नो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले दुःखित तुल्याएको बताएकी हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको तर्फ संकेत गर्दै उनले अपरिपक्व निर्णय भनेकी हुन् ।
यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउने उनको भनाई छ। आवेग र उत्तेजनाका भरमा गरिएका निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न नसकिने समेत चेतावनी दिएकी छन् ।
एमालेको पुर्व उपाध्यक्ष समेत रहनुभएकी भण्डारीले अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेको बताइन् । कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति आफुमा नरहेको समेत उनले बताइन् । पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने आफ्नो उदेश्य रहेको उनले बताइन् । उनले सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत आव्हान गरेकी छन् ।






