कुशादेवीबाट आशापुरी जाँदै गरेको मोटरसाइकल दुर्घटनाः श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन । पनौती नगरपालिका–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नंवरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा परेका तीनै जना एकै परिवारका हुन् ।

मोटरसाइकल दुर्घटनामा पनौती नगरपालिका–५ बस्ने ३२ वर्षिय सुजना खत्रीको मृत्यु भएको छ । मोटरसाइकल चालक सुजनाका श्रीमान बिजय थापा र ५ वर्षिय छोरा बिएन्स थापा घाइते भएका छन् । घाइते दुई जनाको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । विजयको बाँया खुट्टाको गोली गाठामा चोट रहेको छ भने बोल्न सक्ने अवस्थामा छन् । मोटरसाइकल पछाडी सवार छोरा बिएन्सको निधारमाथि टाउकोमा चोट रहेको छ ।

दुर्घटनामा घाइते हुनुभएकी सुजनाको उपचारको क्रममा शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागी धुलिखेल अस्पतालमा राखिएको छ।