स्कटल्यान्डमा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्कटल्यान्डको समुद्री तटस्थित टर्नबेरी गल्फ कोर्समा गल्फ खेल्दै गर्दा त्यहाँका सर्वसाधारण सडकमा उत्रिएर उनको भ्रमणको विरोध गरेका छन् । अमेरिकी राष्ट्रपतिलाई खुसी पार्न खोजेको उनीहरूले बेलायतका नेतामाथि आरोप लगाए ।

ट्रम्प र उनका छोरा एरिकले पनि बेलायतका निम्ति अमेरिकी राजदूत वारेन स्टीफन्ससँगै टर्नबेरीमा गल्फ खेलेका थिए । ट्रम्पको पारिवारिक कम्पनीले सन् २००८ मा यो गल्फ कोर्स किनेको थियो ।

त्यहाँबाट करिब १६० किलोमिटर टाढा स्कटल्यान्डको राजधानी एडिनबर्गमा सयौँ प्रदर्शनकारी अमेरिकी वाणिज्य दूतावासबाहिर जम्मा हुँदै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा वक्ताहरूले ‘एडिनबर्गमा ट्रम्पलाई स्वागत गर्न सक्दैनौँ’ भनेका थिए । उनीहरूले बेलायतका प्रधानमन्त्री किर स्टार्मरको पनि आलोचना गरे । बेलायती सामानमाथि लाग्ने भारी कर (ट्यारिफ)बाट जोगिन हालै उनले अमेरिकासँग व्यापार सम्झौता गरेका थिए ।

बेलायतका अरू सहरमा पनि विरोध प्रदर्शनको योजना बनाइएको छ । प्रदर्शनमा वातावरण कार्यकर्ता, गाजामा हमासविरुद्ध इजरायलको युद्धको विरोध गर्नेहरू र युक्रेन समर्थक समूह सामेल रहेको जनाइएको छ ।

यी सबैले मिलेर ‘स्टप ट्रम्प कोएलिसन’ नामक समूह बनाएका छन् । शनिबारको प्रदर्शन सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालको भन्दा सानो थियो । त्यति बेला ट्रम्प सोही रिसोर्टमा आएका थिए । र, हजारौँ मानिस यसैगरी सडकमा उत्रिएका थिए । योपटक पनि स्कटल्यान्डको परम्परागत वाद्ययन्त्र बजाइएको थियो ।

मानिसले ‘ट्रम्प फिर्ता जाऊ’जस्ता नारा लगाएका थिए । उनीहरूले बोकेका पोस्टरमा ‘तानाशाहका निम्ति रातो कार्पेट होइन’, ‘हामीलाई तिम्रो जरुरत छैन’ र ‘ट्रम्पलाई रोक्नुपर्छ, आप्रवासीलाई स्वागत छ’ जस्ता नारा लेखिएको थियो । अर्कोतर्फ, केही दक्षिणपन्थी समर्थकले सामाजिक सञ्जालमा ट्रम्पको समर्थनमा विशेष गरी ग्लासगोमा र्‍यालीको अपिल गरेका थिए ।

स्कटल्यान्ड पुगेपछि शुक्रबार राति ट्रम्पले आप्रवासन (इमिग्रेसन)ले युरोपलाई समाप्त पार्न लागेको भन्दै युरोपेली नेताको आलोचना गरेका थिए । युरोपेली नेता सम्हालिनुपर्ने नत्र युरोप अब नबाँच्ने उनले बताए । ट्रम्पले स्कटल्यान्डमा बेलायतका प्रधानमन्त्री र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनसँग व्यापारबारे कुराकानी गर्नेछन् । तर, उनको मुख्य ध्यान गल्फमा रहेको जनाइएको छ ।

ट्रम्प र उनका छोरा स्कटल्यान्डको उत्तरपूर्वस्थित एबरडीन क्षेत्रमा रहेको आफ्नो अर्को गल्फ कोर्समा पनि जानेछन् । त्यहाँ मंगलबार उनीहरू रिबन काट्ने कार्यक्रममा सहभागी हुने र आफ्नो दोस्रो गल्फ कोर्सको उद्घाटन गर्ने एपीले जनाएको छ ।