बेथानचोकमा सहुलियत ब्याज अनुदानका लागि २४ कृषि फार्म छनौट, सहभागीलाई अभिमुखीकरण

बेथानचोक गाउँपालिकामा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सहुलियत ब्याज अनुदानका लागि २४ वटा कृषि फार्म छनौट भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्विकृत कार्यक्रम अन्तर्गत उद्यमशीलता विकासका लागि बिन्धवासिनी साकोससँगको साझेदारीमा सहुलियत व्याज अनुदान कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत मापदण्ड पुगेका २४ फार्म छनौट भएका हुन् ।

यसैबिच बेथानचोकमा सहुलियत ब्याज अनुदान ऋण कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । बेथानचोक गाउँपालिका र बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था को संयुक्त आयोजनामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष तिमल्सिनाले स्थानीयस्तरमा वित्तिय पहुँच, उद्यमशीलता विकासको लागि बिन्धवासिनी साकोससँग साझेदारीमा काम भइरहेको बताइन् । बिन्धवासिनीसँगको सहयात्राले आर्थिक उन्नतीको आधार सिर्जना गर्ने उनको विश्वास छ । संस्थाबाट लिइएको ऋणको सहि सदुपयोग मार्फत आर्थिक उन्नती गर्न समेत उनले आग्रह गरेकी छन् ।

बिन्दबासिनी साकोसका उपाध्यक्ष एवं शिक्षा तथा तालिम उपसमिति संयोजक रामहरी शर्मा तिमल्सिनाले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए । उनले सहुलियत ब्याज कार्यक्रमले उद्यम गर्न हौसला मिल्ने विश्वास साकोसको रहेको बताए । गाउँपालिकासँगको साझेदारी आर्थिक रुपान्तरणको साझा संकल्प भएको समेत उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले व्यवसायका लागि आर्थिक अभाव झेलिरहेका पालिकावासीलाई कार्यक्रमार्फत सहयोग गर्ने बताए । सहुलियतपूर्ण ऋण आत्मनिर्भरता र व्यवसायीकताको आधार बन्ने उनको विश्वास छ । बेथानचोक गाउँपालिकामा सहुलियतपूर्ण ऋणका लागि २४ वटा कृषि फर्म सुचिकृत भएका छन् ।

अभिमुखीकरण कार्यक्रममा ढुंखर्क सेवा कार्यालय व्यवस्थापन उप–समिति संयोजक गणेश बहादर तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए । संस्थासँगको साझेदारी, हालसम्मको उपलब्धि र आगामी योजनाको बारेमा बिन्दाबसिनि का नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले जानकारी गराएका थिए ।

कार्यक्रम सञ्चालक मोहनकृष्ण तिमल्सिनाले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा पालिकाका प्रशासन प्रमुख विश्वनाथ दाहाल, साकोसका कोषाध्यक्ष भीमबहादुर खत्री, सेवा केन्द्रका कोषाध्यक्ष उत्तम प्रसाद अधिकारी, सदस्य सिर्जना लामा लगायतले सहुलियत ब्याज अनुदान कार्यक्रम सम्बन्धी आफ्नो धारणा राखेका थिए ।