एक वर्षमा २३ सय प्रहरीले दिए राजीनामा, ४ हजार ७३५ दरबन्दी खाली
नेपाल प्रहरीका २ हजार ३ सयभन्दा बढी प्रहरीले राजीनामा दिएका छन्। गएको आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ३ सय ६९ जना प्रहरी कर्मचारीहरूले राजीनामा दिएका हुन्।
प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले सिनियर दर्जाका १९ जनाले राजीनामा दिएको बताए। यस्तै जुनियर अधिकृत ४ सय १ जना जागिर छाडेर जाँदा जवान र हवल्दार १ हजार ९ सय ४९ जनाले राजीनामा दिएका छन्। यस्तै अनिवार्य अवकाशमा ५२३ जना गएका छन्।
गत आर्थिक वर्षमा २ हजार ७१७ जना प्रहरीमा भर्ना भएका छन्। जवान, सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा गरी त्यति नयाँ प्रहरी भर्ती भएका हुन्।
विभिन्न दर्जामा कार्यरत ७ हजार ४ सय जना प्रहरीलाई बढुवा गरिएको छ। गत वर्ष सहायक हवल्दारदेखि प्रहरी महानिरीक्षसम्म गरी उक्त संख्यामा बढुवा भएका हुन्।
यो अवधिमा २१ हजार २२४ जना प्रहरी सरुवा भएको पनि प्रवक्ता घिमिरेले जानकारी दिए।
नेपाल प्रहरीमा ७९ हजार ५४१ जनाको दरबन्दी रहेको छ। त्यसमध्ये हाल ९४।०५ प्रतिशत अर्थात् ७४ हजार ८०६ जना कार्यरत छन्। यसमध्ये पनि ६५ हजार ५२० जना पुरुष र ९ हजार २८६ जना महिला प्रहरी छन्।
अहिले प्रहरीमा ४ हजार ७३५ जनाको दरबन्दी खाली छ। गएको आर्थिक वर्ष ३ हजार ७५३ जना प्रहरीविरुद्ध उजुरी परेको छ। हेलो सरकारदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत गरी १३ वटा माध्यमबाट प्रहरीविरुद्ध उजुरी दर्ता भएको केन्द्रीय प्रवक्ता घिमिरेले बताए।






