रोटरी क्लब काठमाडौँ हाइटको ‘फुड फरेस्ट’ अभियान

धुलिखेल/रोटरी क्लब अफ काठमाडौँ हाइट तथा रोटरी ई–क्लबको संयुक्त आयोजनामा नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा ‘रोटरी छहारी– फुड फरेस्ट’ कार्यक्रम अन्तर्गत फलफुलका रूख रोपण अभियान सञ्चालन गरेको छ ।

संस्कृति फाम्र्स एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा विद्यालय परिसरमा स्याउ, आरु, खुर्पानी, नास्पाती लगायतका बहुवर्षीय फलफूलका रूख रोपिएका छन् । आयोजक रोटरी क्लब अफ काठमाडौँ हाइटका अनुसार अभियान पर्यावरण संरक्षण, जैविक विविधता र स्थानीय समुदायको खाद्य सुरक्षाको लागि महत्वपूर्ण हुने छ । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय नेतृत्व र रोटरी सदस्यहरूको सहभागिता रहेको थियो ।

रोटरी क्लब अफ काठमाडौँ हाइटका प्रशासकिय निर्देशक तथा संस्कृति फाम्र्सका निर्देशक श्रीकृष्ण धितालले रूख रोप्ने उचित तरिका, माटोको हेरचाह, सिँचाइ विधि लगायतका प्राविधिक जानकारीहरू सहभागीहरूलाई दिए । बिरुवाहरूको उचित हेरचाह गर्दै यसले भविष्यमा विद्यालय तथा स्थानीय समुदायलाई फलफूलको उपलब्धता गराउने उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत दाहालले अभियानले विद्यालय परिसरलाई हरियाली बनाउनुका साथै विद्यार्थीहरूलाई पर्यावरण संरक्षणको शिक्षा दिने बताए । विद्यालयले रोपिएका बिरुवाहरूको नियमित हेरचाह गर्ने प्रतिबद्धता गरे ।

रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन भइरहेको ‘नेपालभर ५०,००० वृक्षारोपण’ अभियानको अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो । यसै दिन देशभरका १ सय ५० भन्दा बढी रोटरी क्लबहरूले वृक्षारोपण कार्यक्रम आयोजना गरेका थिए । रोटरी क्लब अफ काठमाडौँ हाइटले यस्तै अभियानहरू भविष्यमा पनि जारी राख्ने योजना बनाएको छ । क्लबका २०२५/२६ का अध्यक्ष अरुण शर्माले यस्ता कार्यक्रमले समुदायमा पर्यावरण चेतना बढाउनुका साथै स्थानीय स्तरमा खाद्य सुरक्षामा पनि योगदान पुग्ने बताए ।