प्रि–हस्पिटल तथा ट्रमा केयर सेवामा सुधार सम्वन्धी धुलिखेल अस्पतालको अध्ययन प्रतिवेदन सार्वजनिक

धुलिखेल/धुलिखेल अस्पतालले काभ्रेपलाञ्चोक जिल्लामा प्रि–हस्पिटल तथा ट्रमा केयर सेवाको अवस्था सुधार गर्न आवश्यक रणनीतिक सिफारिसहरू सार्वजनिक गरेको छ ।

सन् २०१९ देखि २०२३ सम्म अस्पतालमा ल्याइएका ट्रमा बिरामीहरूको विवरणमाथि गरिएको अध्ययनपछि सार्वजनिक गरिएको नीतिगत प्रतिवेदनले नेपालभर लागू गर्न सकिने नमुना योजना प्रस्तुत गरेको छ । थप विवरण अस्पतालले एक कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिवेदनमा एम्बुलेन्स सेवा एकीकृत गर्ने, उपकरण सहितको टाईप ‘बि’ एम्बुलेन्सको प्रयोग, जनशक्ति विकासमा लगानी तथा ट्रमा केयर सेवासँग सम्बन्धित तथ्यांक संकलन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

धुलिखेल अस्पतालको आपतकालीन सेवा समन्वयकर्ता समेत रहेकी सह प्राध्यापक डा.सम्झना बस्नेतका अनुसार प्रि–हस्पिटल सेवा भनेको उपचारको पहिलो घडी हो । घाइतेलाई समयमै एम्बुलेन्स मार्फत अत्यावश्यक उपचारसहित अस्पताल ल्याउन सकियो भने धेरैको ज्यान बचाउन सकिन्छ । ‘घाईतेलाई अत्यावश्यक आकस्मिक हेरचाह एम्बुलेन्सबाट ल्याइन्छ, तिनीहरूको नतिजा अन्यको तुलनामा निकै राम्रो हुन्छ’–डा.सम्झना बस्नेतले भनिन् – ‘नेपालमा धेरैजसो एम्बुलेन्सहरू केवल सवारी साधनको रूपमा मात्रै प्रयोग भइरहेको छन्, जसमा न औषधोपचार, उपकरण हुन्छन् न त तालिमप्राप्त जनशक्ति । हामीले सिफारिस गरेको टाईप ‘बि’ एम्बुलेन्समा कम्तिमा पनि अक्सिजन, पुनर्जीवन उपकरण र अत्यावश्क उपचारका सामग्री हुनु पर्ने हुन्छ । साथै, चालक र एम्बुलेन्समा खटिने ब्यक्तिलाई पनि आवश्यक आधारभूत तालिम दिइनु आवश्यक छ ।’ अत्यावश्यक आकस्मिक सेवा विरामीलाई एम्बुलेन्स वा फिल्डमा नै दिनुपर्छ किनकी हरेक स्थानमा तुरुन्त अस्पताल पु¥याउने अवस्था नरहेको डा.सम्झना बस्नेतले बताईन् ।

प्रतिवेदनमा ‘एक–द्वार नीति’ (वन डोर पोलिसी ) अन्तर्गत सबै एम्बुलेन्सलाई एउटै संचार प्रणालीमार्फत सञ्चालन गर्न सुझाव दिएको छ । यसले कुन एम्बुलेन्स नजिक छ, कुन अस्पतालमा लैजान उपयुक्त हुन्छ भन्ने निर्णय तुरुन्त लिन सकिन्छ । धुलिखेल अस्पतालले रेडक्रससँगको सहकार्यमा जिपिएस अनुगमन प्रणाली विकास गरिसकेको छ । उक्त प्रविधिमा अन्य स्थानीय एम्बुलेन्सहरूलाई जोड्ने योजना अघि सारिएको छ । यस अघि पनि जिल्लाका सबै एम्वुलेन्सहरुमा यो प्रविधि जडान गरिएको पनि नियमित अनुगमन र ब्यवस्थापन हुन नसक्दा कार्यान्वनमा निरन्तरता हुन सकेन ।

प्रि–हस्पिटल सेवा सफल बनाउन जनशक्ति सबभन्दा ठूलो चुनौती भएको डा.बस्नेतले बताईन् । प्रस्तावित मोडेलमा बहु–स्तरीय तालिम प्रणाली रहेको उनले बताईन् । जसमा सामुदायिक स्वयंसेवक देखि एडभान्स लाइफ सपोर्ट प्रदायकसम्मलाई समेटिन्छ । नेपालका भूगोल र स्रोत साधन हेरेर सरल तर प्रभावकारी तालिम विधि अपनाउनु पर्ने उनले बताईन् । ‘कहिलेकाहीं घटना यति दर्दनाक हुन्छ कि त्यो मानसिक तनाव बनेर बस्छ । उनीहरूको हेरचाह नगरी दीर्घकालीन सेवा टिकाउन सकिँदैन’–डा. बस्नेतले भनिन–‘अस्पतालले ट्रमा सम्बन्धी ‘दर्ता प्रणाली’ विकास गर्नुपर्ने सुझाव दिएको छ, जसबाट उपचार, प्रतिक्रिया समय, चोटपटकको ढाँचा आदिको विश्लेषण गर्न सकिन्छ ।’ प्रतिवेदनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार डाटा संकलन गर्नुपर्ने उल्लेख गरेको छ । भौगोलिक चुनौती भएका क्षेत्रका लागि मोटरसाइकल एम्बुलेन्सको प्रयोगले राम्रो परिणाम दिन सक्ने प्रतिवेदनमा उल्लेख छ । यस्ता सवारीहरू झन्झटिलो बाटो र जाम भएको अवस्थामा पनि छिटो बिरामीसम्म पुग्न सक्छन् ।

यो प्रतिवेदनले काभ्रेपलाञ्चोक जिल्लाको अवस्था सुधार गर्ने लक्ष्य मात्रै राखेको नभई देशव्यापी प्रि–हस्पिटल सेवा प्रणालीलाई प्रभावकारी बनाउने सम्भावना बोकेको उनले बताईन् । यो अध्ययन र प्रतिवेदन विस्कॉन्सिनको मेडिकल कलेजसँगको सहकार्यमा तयार पारिएको थियो। अध्ययन टोलीमा विश्वविद्यालयका म्याक्स म्यान्टीच, सारा यङ र लौरा क्यासिडी थिए। लोयोला विश्वविद्यालय शिकागोकी थेरेसा न्गुयेनले पनि प्रतिवेदनमा योगदान पुर्‍याएकी थिइन्। लौरा क्यासिडी स्वास्थ्य तथा मानवता संस्थानको निर्देशक हुन् । उनी महामारी विज्ञान तथा सामाजिक विज्ञानका प्राध्यापक समेत रहेका विश्व स्वास्थ्यका सहयोगी पनि हुन् । साथै विस्कन्सिनको मेडिकल कलेजका डीनका रुपमा कार्यरत छन् । 

यसको कार्यान्वयनमा सरोकारवाला निकायहरूले आवश्यक ध्यान दिने हो भने उपचारको पहिलो घडीमै हजारौँको जीवन जोगाउन सकिने डा. बस्नेतले बताईन् । विपी राजमार्ग जोडिएको धुलिखेल अस्पताल परिसरमा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण शुरु गरिएको छ ।