घर पारीको गोठमा तीन दिनदेखि घाँस पानी गर्न कोही नगएपछि सुरु भयो खोजी
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता घटनामा स्थानीयदेखि प्रहरी प्रशासनसम्मले खोजी सुरु गरेका छन् । लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय बासिन्दा, प्रहरी जनप्रतिनिधि र प्रहरीले खोजी सुरु गरेका छन् । उनीहरु कहिलेबाट हराए भन्ने समेत पत्ता लागेको छैन । तीन दिनदेखि घरभन्दा पारी गोठमा बाँधिएको पाडोलाई घाँस पानी गर्न कोही नगएपछि आज नजिकका व्यक्तिले घरमा आएर हेर्दा कोही नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी सूचना प्राप्त भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।
घटना रहस्यमय देखिएकाले खोजी गर्न समस्या भइरहेको वडाध्यक्ष रविन श्रेष्ठले बताए । उनका अनुसार हायु परिवारले सीमान्तकृत समुदायको सदस्यका रूपमा पाउने एक वर्षको भत्ता चार दिनअघि मात्र एकमुष्ट बैंकबाट बुझेका थिए । १६ जना हराए पनि १८ जनाको भत्ता निकासा भएको र सो रकम ८ लाख रूपैयाँभन्दा बढी हुन जान्छ ।
वडाध्यक्ष श्रेष्ठले सोमबार बिहान ११ बजेतिरमात्र सो घटनाबारे थाहा भएपछि प्रहरीसहित उर्मिलाको घरमा पुग्दा रहस्यात्मक घटनाहरु देखिएको बताए । उनले वरपर पाखातिर खोज्ने काम भइरहेको बताएका छन् ।
उनीहरुको घरबाट अरु घर जान १५ मिनेट लाग्छ । घरमा अलिकति आगो समेत लागेको भेटिएको वडा अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘घरमा बाँधेका गाइबस्तु भोकले कराएका छन् । कुखुरा बाख्रा पनि छन् । आफ्नै घरमा पालेको सुँगुर काटेर भत्ता आएको दिन खाएका रहेछन् । सुँगरको मासु २ धार्नी जति अँगेनाकै छेउमा रहेछ । बैंक र सहकारीमा अलिकति ऋण थियो भन्ने सुनिन्छ । केही प्लान गरेर हिँडेका हुन् वा कुनै विपत्ति आएको हो भन्ने अहिले नै भन्न सकिएन । उर्मिलाको छोरा, बुहारी, नाति नातिना, छोरीहरूसहित एकै परिवारका १६ जना सदस्य बेपत्ता छन्, अहिलेसम्मको अपडेट यही हो ।’






