अमेरिका बसेर नेपालबाट वडाको भत्ता बुझ्दै वडाध्यक्ष

काठमाडौँ / कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल एक वर्षदेखि अमेरिकामा छन् । श्रीमतीलाई डिभी परेपछि उनले ०८१ सालको असार महिनामा महिला वडा सदस्य लक्ष्मी गिरीलाई कार्यवाहक जिम्मेवारी दिँदै अमेरिका प्रस्थान गरेका थिए । तर, एक साताका लागि मात्रै वडा बाहिर जाने भन्दै निस्किएका दाहाल त्यसयता फर्किएका छैनन् ।

वडाध्यक्ष अमेरिका भए पनि उनका नाममा नेपालस्थित बैंक खातामा गाउँपालिकाले भत्ता पठाउँदै आएको पाइएको छ । प्राप्त विवरणअनुसार, उनी अमेरिका गइसकेपछि ०८१ सालको साउनदेखि मङ्सिर सम्म विभिन्न सात शीर्षकमा कर कट्टी गरी गाउँपालिकाले जम्मा १ लाख ३३ हजार ६५० रुपैयाँ उनको खातामा जम्मा गरेको छ ।

त्यस अवधिमा उनले यातायात सुविधा अन्तर्गत ७ हजार ५ सय, पत्रपत्रिका तथा इन्टरनेट बापत १७ हजार ५ सय, टेलिफोन सुविधा १७ हजार ५ सय, अतिथि सत्कार शीर्षकमा ३० हजार, अनुगमन खर्च ३० हजार, समन्वय तथा सहजीकरण बापत १२ हजार ५ सय, र चाडपर्व सुविधाबापत थप २० हजार रुपैयाँ पाएका छन् ।

गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङका अनुसार, दाहाल ०८१ असार महिनाको गाउँ सभामा सहभागी भएका थिए तर पुसको गाउँ सभामा अनुपस्थित भएपछि त्यसपछिको भत्ता रोकिएको छ । ‘उहाँ असारको गाउँ सभामा हुनुहुन्थ्यो । पुसको गाउँ सभामा अनुपस्थित भएपछि त्यसयता सेवा सुविधा रोकिएको छ,’ उनले भने ।

दाहालले अमेरिका जानुपरेको कारण आफ्नो परिवारका सदस्यको उपचार रहेको उल्लेख गर्दै पत्र गाउँपालिकामा पठाएको अध्यक्ष गुरुङले बताए । उनले भने, ‘वडा अध्यक्षले परिवारको उपचारका लागि अमेरिका जानुपरेको भनेर पत्र पालिकामा आएको थियो, उनले उक्त पत्रमा आफू कार्तिक महिनाको दोस्रो हप्ता नेपाल आउने बताएका छन् । ’ पालिकाले पत्र काटेपछि सम्पर्कमा आएको र हाल उनलाई कारबाही गर्ने अधिकार पालिकालाई नभएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । 

दाहाल माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । अध्यक्ष गुरुङका अनुसार, यो विषयमा पार्टीलाई पनि जानकारी दिइएको छ । ‘यदि तोकिएको समयमा नआएमा पालिकाले कारबाहीको सिफारिस गर्ने तयारी गरिएको छ,’ उनले भने ।

हाल वडाध्यक्षको अनुपस्थितिमा कार्यवाहक वडाध्यक्ष लक्ष्मी गिरीले जिम्मेवारी सम्हालिरहेकी छन् । उनका अनुसार, सुरुमा दाहालले एक साताको लागि काठमाडौँ जानुपर्ने भन्दै आफूलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो । तर, दुई दिनमै उहाँ अमेरिका पुगेको जानकारी आएको गिरीले बताइन् ।

‘उहाँले मेरो धेरै दिन काम नपर्ने र चाँडै फर्किन्छु भनेपछि कार्यवाहक सम्हाल्न तयार भएकी थिएँ,’ गिरीले भनिन्, ‘तर त्यसपछि एक वर्षसम्म पनि नआएपछि मैले दुई पटक गाउँपालिकामा कार्यवाहक सम्हाल्न नसक्ने भन्दै निवेदन दिएँ ।’

गाउँपालिकाका अध्यक्ष र कार्यपालिकाले अन्य विकल्प नभएको भन्दै जिम्मेवारी नछोड्न आग्रह गरेपछि उनले हालसम्म कार्यवाहकको भूमिका निभाइरहेकी छन् ।