काभ्रेमा प्रथम सेवा बिन्दुबाट रेफर गर्ने मात्रै काम भयो, रेफरको भुक्तानी दिन सकिँदैनः बीमा बोर्ड
स्वास्थ्य बीमा बोर्डले काभ्रेमा तोकिएका प्रथम सेवा बिन्दुबाट रेफरल लेटर दिने काम मात्रै भएको भन्दै ध्यानाकर्षण गराएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा धुलिखेलमा भएको समन्वयात्मक बैठकमा बीमा बोर्डका प्रदेश संयोजक मनोज पौडेल र जिल्ला प्रमुख मुना निरौलाले आफुले सेवा दिन नसकेमात्रै माथिल्लो निकायमा रेफर गर्ने प्रावधान स्मरण गराएका छन् । उनीहरुले रेफर गरेको मात्रै बीमा बोर्डले भुक्तानी दिन नसक्ने समेत बताएका छन् । सरकारले निर्णय गरिसकेको विषयमा आफुहरुले केहि गर्न नसक्ने भन्दै उनीहरुले निर्णयको कार्यान्वयनमा जोड दिएका छन् ।
यसैबिच सरोकारवालाहरुले धुलिखेल अस्पतालाई नै स्वास्थ्य बीमको प्रथम सेवा बिन्दु कायम गर्न काम गरेका छन् । जनशक्ति, भौतिक संरचनालाई बेवास्ता गर्दै अव्यवहारिक रुपमा निश्चित स्वास्थ्य संस्थालाई मात्रै प्रथम सेवा बिन्दु तोक्दा नागरिकले सास्ती खेप्नुपरिरहेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले बताए । बैठकले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरेर मात्रै प्रथम सेवा विन्दु तोक्न माग गरेको छ । स्तरोन्न्तीका लागि ६ महिनाको समय दिएर त्यसअघि धुलिखेल अस्पतालाई प्रथम सेवा बिन्दु तोक्न माग गरिएको समन्वय समिति प्रमुख गौतमले बताए ।
सेवा सञ्चालनका लागि तयारी अवस्थामा रहेका बनेपा, पाँच्खाल, मण्डनदेउपुर नगरपालिका लगायतका पालिकालाई पनि अनुमति दिनका लागि आग्रह गर्ने उनले बताए । १३ वटै पालिकामा कम्तिमा एउटा प्रथम सेवा बिन्दु तोक्न सरोकारवालाले माग गरेका छन् ।
कार्यक्रममा पालिकाका प्रमुख/उप–प्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, धुलिखेल अस्पतालका डा. बलराम मल्ल, रयुकाई आँखा अस्पतालका हिरामणी शमा, जिल्लाका लागि तोकिएका पाँचवटै स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष लगायत सरोकारवालको उपस्थिती रहेको थियो ।






