रसुवामा फेरि ठूलो बाढी, तीन जिल्लामा हाइ अलर्ट

रसुवाको भोटेकोसी नदीमा गएराति फेरि ठूलो बाढी आएको छ। गएराति दुई बजेदेखि भोटेकोसीमा ठूलो बाढी आएको हो। बाढीले सडकमार्गमा व्यापक क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए।

‘गएको असार २४ गते आएको जत्रै ठूलो बाढी आएको छ,’ डीएसपी शाहीले भने, ‘बाढीले ७/८ ठाउँमा सडक बगाएको छ।’

 

बाढीले सडक बगाउँदा पासाङ ल्यामु सडकखण्ड अवरुद्ध भएको उनले बताए।

‘स्याप्रुवेसीदेखि टिमुरे(रसुवागढीसम्मका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ,’ शाहीले भने, ‘अहिले यो सडकखण्ड पूर्णरुपमा सडक अवरुद्ध। झण्डै सात/आठ ठाउँमा सडक बगाएको छ। क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन।’

असार २४ गते आएको बाढीले बगाएको सडक मर्मत गरेपछि त्यस क्षेत्रमा केही दिनअघिबाट मात्रै गाडी चल्न थालेका थिए।

मर्मत गरेको र नयाँ ठाउँमा पनि बाढीले सडक कटान गरेको शाहीले बताए। रसुवा क्षेत्रमा पानी नपरे पनि भोटेकोसीमा ठूलो बाढी आएको हो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले सुरक्षा निकायलाई अलर्टमा राखिएको जानकारी दिए।

टिमुरे भन्सार यार्डबाट गाडीहरू यसअघि नै निकालिसकिएको पनि उनले बताए। सहायक प्रजिअ अधिकारीले चीनतर्फबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन भनेर सोमबार सूचना प्राप्त भएको थियो।

त्यही अनुसार सबै निकायमा सूचना प्रवाह भएको थियो। सोही अनुसार सुरक्षा निकाय र सरोकारवाला निकायहरूलाई सतर्क रहन भनिएको उनले बताए।

भोटेकोशीमा बाढी आएपछि रसुवासहित तीन जिल्लाका सुरक्षा निकाय हाइ अलर्टमा छन्। भोटेकोशी नुवाकोटमा पुगेपछि त्रिशूलीमा मिसिन्छ। रसुवामा बाढी आएपछि त्रिशूलीमा पनि जलसतह बढ्ने गर्छ।

रसुवासहित नुवाकोट र धादिङका सुरक्षा निकाय हाइ अलर्टमा छन्। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले पनि त्रिशूलीको बहाब बढेका कारण तटीय क्षेत्रमा प्रहरी युनिटहरूलाई अलर्टमा राखिएको जानकारी दिए।