बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित, राजीनामा नदिने मुख्यमन्त्रीको अडान
बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज भएको मतदानपछिको गणनामा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सदस्य छन्। शतप्रतिशत मतदान भएको निर्वाचनमा बानियाँले २२ सांसदको मत पाउँदा लामाले १४ सांसदको मत पाए। १ मत भने बदर भएको छ।
यसअघि मंगलबार भएको अविश्वासको प्रस्तावमाथिको मत विभाजनमा लामाले १५ सांसदको मात्रै साथ पाएका थिए। अविश्वासको प्रस्तावको पक्षमा बानियाँका पक्षका २२ सांसदले मत दिएका थिए। यसरी बहुमतको आधारमा अविश्वासको प्रस्ताव पारित भएको थियो। यसैबिच नेपाली कांग्रेस बागमती संसदीय दलको निर्वाचनमा ८ मतान्तरले पराजित भएपछि मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतान्त्रिक पद्धतीको उपयोग भएको बताएका छन्।
मुख्यमन्त्री लामाले संसदीय दलको नेताको लागि निर्वाचन हुनु लोकतान्त्रिक पद्धती भएको भन्दै राजीनामा भने नदिने बताएका हुन्।
अब बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुहुन्छ ? भन्ने्, सञ्चारकर्मीको प्रश्नमा लामाले भने, ‘किन राजीनामा दिने? संसदीय दलको नेतामा पराजित भएको हो। कांग्रेसको विधानमा दलको नेता नभएपनि गठबन्धनको सरकारको नेतृत्व गर्न पाइन्छ भन्ने छ। त्यसैले म राजीनामा दिन्नँ।’
यसअघि १३ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा लामाले बानियाँलाई ५ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। साढे २ वर्षपछि बानियाँले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर लामा नेतृत्वको सरकार ढलाउने खेलमा जुटेका हुन्।






