बृहत शैक्षिक मेला गर्दै इक्यान काभ्रे, विदेश पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) काभ्रे शाखाले शैक्षिक मेला आयोजना गरेको छ । यही साउन ३० गते बनेपास्थित पार्टी भेन्युमा शैक्षिक मेला आयोजना गरिएको इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिए ।

शैक्षिक मेलालाई विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि एक महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ। मेलामा १००० भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू र इक्यानसँग आवद्ध जिल्लाका शैक्षिक परामर्श संस्था पनि मेलामा सहभागी हुनेछन्। विद्यार्थीहरू तथा अभिभावकहरूले मेलामा सहभागी भई विदेशमा अध्ययनका विविध गन्तव्य, आवश्यक प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया, भाषा परीक्षा, तथा विश्वविद्यालय छनोट जस्ता विषयमा प्रत्यक्ष जानकारी हासिल गर्न सक्नेछन्। मेलाको समग्र व्यवस्थापन वन अप इभेन्ट म्यानेजमेन्टले गर्नेछ ।

इक्यान काभ्रेका अध्यक्ष रायमाझीले मेलाले काभ्रे जिल्ला र आसपासका विद्यार्थी तथा अभिभावकहरूका लागि विदेश अध्ययनसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सुनौलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले भने, “विद्यार्थी तथा अभिभावकहरू मेलामा आएर प्रत्यक्ष रूपमा विश्वविद्यालयका प्रतिनिधिसँग कुराकानी गर्न सक्नेछन्, जसले उनीहरूको निर्णय प्रक्रिया अझ स्पष्ट र जानकारीमूलक हुने छ।”