काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा २०२५ धुलिखेल क्याम्पसमा सञ्चालनमा
बनेपा/ काठमाडौं विश्वविद्यालयले “मानव सेवाका लागि ज्ञान र प्रविधिको प्रयोग गर्दै विश्वस्तरीय विश्वविद्यालय बन्ने” दृष्टिकोणलाई आत्मसात गर्दै, सन् २०२५ को स्नातक तहका कार्यक्रमहरूमा भर्नाका लागि कम्प्युटर आधारित प्रवेश परीक्षा (KUCAT-CBT) सञ्चालन गरिरहेको छ।
हरेक दिन करिब ३०० विद्यार्थी सहभागी हुँदै आएका याे परीक्षा जुलाई २८ देखि सुरु भई अगस्ट १ सम्म धुलिखेलस्थित केन्द्रीय क्याम्पसमा सञ्चालन भइरहेको हाे ।
प्रवेश परीक्षा इञ्जिनियरिङ (KUSoE) र साइन्स (KUSoS) अन्तर्गतका स्नातक कार्यक्रमहरूमा भर्ना लिने उद्देश्यले सञ्चालन गरिएको हो। विद्यार्थीहरूले आफ्नो रुचिअनुसार भौतिकशास्त्र, रसायनशास्त्र, गणित (PCM) वा भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान (PCB) विषय संयोजन छनोट गर्न सक्ने छन्।
बिहान १०:०० बजेदेखि १२:०० बजे र दिउँसो १:०० बजेदेखि ३:०० बजे गरि दुई सिफ्टमा परीक्षा सञ्चालन भइरहेकाे छ ।
विद्यार्थीहरूले परीक्षा सुरु हुनु भन्दा ४५ मिनेट अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ। रङ्गीन प्रवेशपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ, साथै नागरिकता, राहदानी वा लाइसेन्सजस्ता मूल परिचयपत्रहरू मध्ये कुनै एक अनिवार्य रूपमा देखाउनु पर्नेछ।
परीक्षामा कलम मात्र ल्याउन पाइनेछ भने व्यक्तिगत क्याल्कुलेटरको प्रयोग निषेध गरिएको छ — कम्प्युटरमा उपलब्ध इन-बिल्ट क्याल्कुलेटर मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
कम्प्युटर आधारित प्रणालीका कारण परीक्षा सम्पन्न भएपछि विद्यार्थीले तुरुन्तै आफ्नो अंक हेर्न सक्ने छन्, जसले प्रक्रियालाई थप पारदर्शी र विद्यार्थीमैत्री बनाएको छ। यो प्रविधिमैत्री प्रणालीले विश्वविद्यालयको गुणस्तरीय नेतृत्वमूलक शिक्षाको मिसनलाई साकार बनाउने विश्वास दिलाउने बताउछन् ।
विश्वविद्यालयकाे अनुसार अगस्ट ४ मा सम्पूर्ण CBT रैंक प्रकाशन,अगस्ट ७ मा आर्किटेक्चर एप्टिच्युड टेस्ट र अगस्ट १० मा कार्यक्रम अनुसारको रैंकमा आधारित भर्ना सूची प्रकाशन (अनलाइन) गरिनेछ भने अगस्ट ११ मा औपचारिक भर्ना प्रक्रिया सुरु हुनेछ ।
यसैबीच, बिराटनगर र बुटवल केन्द्रमा प्रवेश परीक्षा सम्पन्न भइसकेको छ भने हाटिबन (कला र शिक्षाशास्त्र स्कुल) तथा धुलिखेल क्याम्पसमा परीक्षा अझै सञ्चालनमा छ।
काठमाडौं विश्वविद्यालयले प्रविधियुक्त, पारदर्शी र विद्यार्थी-कैन्द्रित भर्ना प्रक्रियालाई निरन्तरता दिँदै आएको छ। KUCAT-CBT प्रणाली विश्वविद्यालयको शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रतिको प्रतिबद्धताको प्रमाण हो।






