स्वास्थ्य बीमामा धुलिखेल: प्रधानमन्त्रीलाई ज्ञापनपत्र, अध्ययन गर्न उपप्रमुखको संयोजकत्वमा समिति
धुलिखेल/धुलिखेल नगरपालिकाले स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने लक्ष्य सहित स्थानीयस्तरमा बीमा प्रणाली विस्तार गर्न ठोस कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
धुलिखेल नगरपालिकाले संघीय सरकारसँग थप सहकार्य र सहजीकरणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, वडा अध्यक्षहरु अर्जुन न्यौपाने, गणेश आचार्य, उत्तम तिमल्सिना, प्रमोदसुन्दर श्रेष्ठ, मोहनप्रसाद लामिछाने, एमाले धुलिखेल कमिटी अध्यक्ष विष्णु धिताल लगायतको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । नगर प्रमुख तथा अन्य जनप्रतिनिधिहरूको टोलीले धुलिखेल नगरपालिकाले हालसम्म गरेको प्रयास, प्राविधिक तथा आर्थिक पक्षमा आइरहेका चुनौती र संघीय सरकारको आवश्यक सहयोगको अपेक्षा सहित ज्ञापनपत्र बुझाएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमा देखिएका समस्याका बारेमा आवश्यक छलफल गरी तत्काल निर्णय गर्ने बताए । ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष ओलीसँग भएको भेटवार्तामा स्वास्थ्य बीमाको दायरा बढाउने, संघीय सरकारको बजेट साझेदारीको आवश्यकता र ग्रामीण भेगमा सेवा विस्तार सम्बन्धी विषयमा छलफल भएको थियो । स्वास्थ्य बीमाका कारण नागरिकहरुले पाएको सहजता र अहिलेको ब्यवस्थाले भएको दुख हैरानीका बारेमा नगर प्रमुख ब्याञ्जुले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका थिए ।
धुलिखेल नगरपालिकाले धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दुको रुपमा संचालन गर्न आवश्यक पर्ने औषधी उपकरण र जनशक्ति तथा श्रोत साधन समेतको लागत इस्टमेट तयार गरी सम्वन्धित निकायमा पठाउने निर्णय गरेको छ । त्यस्तै नगरपालिका क्षेत्र भित्र रहेको धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दुका रुपमा सेवा सूचारु गर्न ६ महिनाका लागि स्वीकृत प्रदान गर्र्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै उपप्रमुख निराजन जंगमको संयोजकत्वमा वडा अध्यक्ष गणेश आचार्य, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दिपक ढकाल, कानुन ब्यवसाय विज्ञ, स्वास्थ्य सल्लाहकार दिर्घराज बरुण, धुलिखेल अस्पताल प्रतिनिधि, स्वस्थ्य शाखा प्रमुख सन्दिप केसी सदस्य सचिव र स्वास्थ्य शाखा प्रतिनिधि सदस्य रहेका छन् । सल्लाहकार संरक्षकमा नगर प्रमुख अशोककुमार ब्याञ्जु र प्रमुख प्रशाशकीय अधिकृत मोहनप्रसाद मरासैनी रहेका छन् ।
नगरपालिकाले नगर क्षेत्र भित्रका सबै नागरिकलाई समेट्ने गरी राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयनलाई तीव्र बनाउने निर्णय गरिएको छ । नगरपालिकाले बीमाको प्रिमियम नगरको तर्फबाट केही प्रतिशत अनुदान दिने तथा आर्थिक अवस्था कमजोर भएका परिवारका लागि पूर्ण अनुदानको व्यवस्था गर्ने योजना अघि सारेको छ । धुलिखेल नगरपालिका ३ का वडाध्यक्ष गणेश आचार्यका अनुसार स्वास्थ्य बीमा सबैका लागि सहज बनाउन अस्पतालमा सेवाको पहुँच बढाउने र खर्च कम गर्ने उपायका रूपमा बीमा कार्यक्रम उपयोगी बनाउन नगरपालिकाले आवश्यक तयारीका लागि समिति गठन गरेको हो ।
धुलिखेल नगरपालिकाले स्थानीय तहबाटै समावेशी स्वास्थ्य प्रणाली निर्माण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै आएको छ । नगरमा सञ्चालनमा रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, तथा धुलिखेल अस्पतालसँगको सहकार्य मार्फत सेवा विस्तार गरिरहेको छ । बीमा कार्यक्रम प्रभावकारी रुपमा लागु गर्न पालिकाले स्थानीय स्वयंसेवकलाई परिचालन गर्ने, जनचेतना अभियान सञ्चालन गर्ने तथा डिजिटल प्रविधिको प्रयोग गरेर दर्ता प्रक्रिया सहज बनाउने लक्ष्य राखेको छ । धुलिखेल नगरपालिकाको यो पहलले समग्र देशका पालिकाहरूलाई स्वास्थ्य बीमाको अभ्यास गर्ने प्रेरणा दिन सक्ने उनले बताए । संघीय सरकारसँग समन्वय गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउने प्रयासले नेपालका नागरिकको जीवनस्तर उकास्न ठूलो योगदान पु¥याउनेछ ।






