धुलिखेल नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई
धुलिखेल/धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ को बार्षिक गतिविधि तथा सेवा प्रवाह सन्र्दभमा तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । धुलिखेल नगरपािलकामा आयोजित कार्यक्रमको दिगो विकासका लागि नागरिक मञ्चले सहजिकरण गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाले प्रदान गरेको सेवाका बारेमा सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए । धुलिखेल नगरपालिकाले आर्थिक वर्षको अन्त्यसम्मा चालु तर्फ ८९.७१ प्रतिशत, पुँजीगत तर्फ ६६.६१ प्रतिशत, वित्तिय ब्यवस्था तर्फ ८६.७० प्रतिशत र कुल जम्मा ८२.३३ प्रतिशत प्रगति गरेको छ । क्षेत्रगत तर्फ सबै भन्दा धेरै कार्यलय संचालन तथा प्रशासनिक तर्फ ९० प्रतिशत खर्च भएको छ भने सबै भन्दा कम आर्थिक विकासमा ३८ प्रतिशत खर्च भएको छ । शाखागत रुपमा भएका प्रगति तथा भएका राम्रा अभ्यास र चुनौतीहरुका बारेमा समेत कार्यक्रममा गतिविधिहरु प्रस्तुत गरिएको थियो ।
नगरपालिकाले गरेका समग्र गतिविधिहरुका बारेमा जानकारी गराएसँगै तेश्रो पक्ष दिगो विकासका लागि नागरिक मञ्चले नागरिकहरुसँग लिएको बहिर्गमन प्रतिवेदन र नागरिक प्रतिवेदन सहजकर्ता एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले प्रस्तुत गरेका थिए । सेवाग्राहीको समग्र भनाईमा कार्यालयका राम्रा पक्षहरुमा कर्मचारीहरुको व्यवहार मिलनसार र सन्तोषजनक, कार्यालयको व्यवस्थापन पक्ष राम्रो र सेवाग्राहीको सेवा प्रवाहका सन्तुष्ट नै रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सुधार गर्नु पर्ने पक्षहरुमा सरल र शिष्ट भाषामा सेवा प्रवाह गरि सबैलाई समान व्यवहार गनुपर्ने, सेवा प्रवाहको प्रक्रिया लामो भएको, आवश्यक कागजातको पूर्व जानकारी पाउन पाए राम्रो, छिटो छरितो सेवा प्रदान गरिनुपर्ने, सेवाग्राहीलाई शिष्ट र सभ्य भाषाको प्रयोग गरिनुपर्ने, योजनाहरुको स्थलगत अनुगमन गर्नुपर्ने, कर्मचारीहरु कार्यालयमा कार्यालय समयसम्म बस्नुपर्ने, कार्यालय भवन अझै ब्यवस्थित बनाउनु पर्ने, वडा कार्यालयमा तथा टोल टोलमा सामाजिक सञ्जाल तथा अन्य संचारमाध्यमबाट स्थानीय तहको कार्यक्रमको बारेमा जानकारी दिनुपर्ने, विषयगत शाखाहरु छुट्टछुट्टै हुनु पर्ने, दक्ष कर्मचारीहरुको व्यवस्था हुनुपर्ने, कार्यालयमा कागजपत्रहरुको व्यवस्थापन गरिनुपर्ने, वडा कार्यालय व्यवस्थित हुनुपर्ने, जेष्ठ नागरिक भत्ता समयमा नै दिनुपर्ने, वडा कार्यालयहरुमा नागरिक वडापत्रको व्यवस्था गरिनुपर्ने, स्वास्थ्य बीमा कार्यक्रम सहज बनाउनु पर्ने लगायतका सुझावहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा एकीकृत समाजवादीका दयासागर श्रेष्ठले नगरपालिकाले पारदर्शिता तथा शुशासनका लागि उठाएका विषय सकारात्मक रहेको बताउँदै खानेपानी, जग्गा ब्यवस्थापन लगायतका विषयसँगै तीन तहका सरकारसँगको अन्तरसम्वन्धमा ध्यान दिन सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले नागरिकहरुले उठाएका सवालहरु तथा नगरपालिकाले निर्माण गरेका कानून र तीन तहका सरकारसँगको समन्वयका बारेमा आवश्यक सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।






