वार्षिकोत्सवको अवसरमा क्लासिक टेकले १७ गते बनेपामा खुला रक्तदान कार्यक्रम गर्दै

 

इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेक प्रा.लि.ले १६औं वार्षिकोत्सवको अवसरमा “रक्तदान, जीवनदान” भन्ने नारासहित वृहत खुला रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ।

नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा समाज डेन्टल, अल केयर हेल्थ सर्भिस प्रालि, चिया स्टेसन बनेपा र शुभकामना सिनेमा हलको सहकार्यमा रक्तदान हुदैछ । यहि श्रावण १७ गते बिहान १०ः०० बजेबाट दिउँसो ४ः०० बजेसम्म अल केयर हेल्थ सर्भिस चारदोबाटोमा सञ्चालन रक्तदान कार्यक्रम सञ्चालन हुनेछ ।
साथै रक्तदान गर्नेहरुका लागि शुभकामना सिनेमा हलमा एउटा मुभि निःशुल्क, चिया स्टेशनको मट्का चिया निःशुल्क, अल हेल्थ केयर सर्भिसबाट स्वास्थ्योपचारमा २० प्रतिशत छुट, सुगर–प्रेसर परीक्षण निःशुल्क, समाज डेण्टलको तर्फबाट निःशुल्क दन्त परीक्षण तथा दन्तसम्बन्धी अन्य सेवामा २० प्रतिशत छुट प्रदान गरिने क्लासिक टेक बनेपा शाखाका प्रमुख निराजन रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार क्लासिक टेकले वार्षिकोत्सव जस्ता अवसरमा सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियान स्वरूप यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ । आयोजकहरूले इच्छुक रक्तदाताहरूलाई निर्धारित समयमा उपस्थित भई रक्तदानमा सहभागिता जनाउन आग्रह गरेका छन् ।

क्लासिक टेकले विगतदेखि नै सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिका खेल्दै आएको छ ।