मनसुन थप सक्रिय : अधिकांश भूभागमा वर्षा
काठमाडौँ / देशभर मनसुनी वायु थप सक्रिय बनेसँगै अधिकांश भूभागमा मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर मध्यम वर्षाको सम्भावना औंल्याउँदै, आज राति बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थान नजिकै रहिरहेकाले जलवाष्पयुक्त हावाको प्रभाव बढेको हो। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा बाक्लो बादल लागेको छ भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ ।
दिउँसो: कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र देशका बाँकी पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा पनि वर्षा हुनेछ ।
राति: मौसमको मुख्य गतिविधि देशको पहाडी भूभागमा केन्द्रित हुनेछ । महाशाखाले आज रातिलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ, विशेषगरी बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । अन्य पहाडी क्षेत्र र मधेस प्रदेशका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा जारी रहनेछ ।
भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको बहाव र सतह बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ । यसले सडक तथा हवाइ यातायातमा समेत अवरोध सिर्जना गर्नसक्ने भएकाले यात्रा गर्दा र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्नेहरूले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।






