हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रमै छाप्ने तयारीमा छौँः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्तर्गत प्रकाशन गरिने बताएका छन् ।
हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् ।
हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामग्रीद्वारा टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको मन्त्री गुरुङले बताए ।
उनका अनुसार बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजातहरु मन्त्रालय अन्तर्गत सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्नेछ । उनले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालिनाली संरक्षण जरुरी रहेको पनि बताए ।
विभागले ल्याएको नयाँ टिकटहरुमा नेपालका जात्राहरुअन्तर्गत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दीरहरुमा बालकुमारी मन्दीर (ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवी मन्दिर (चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर (गोरखा), बैतेश्वर महादेव मन्दिर (दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान विष्णु कौडेना सर्लाही बाह्रौँ(तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्हरु अन्तर्गत ई. कुल रत्न तुलाधर, शंकरदेव पन्त, पं. ऋषिराम पन्थी गरी १४ वटा टिकट रहेका छन् ।
कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक “नेपाल हुलाक टिकट (वि.सं १९३५–२०८२) पनि लोकार्पण गरिएको छ ।






