मधेशमा ५७ प्रतिशत रोपाइँ, चार जिल्लाको अवस्था नाजुक
सङ्घीय सरकारद्वारा तीन महिनाका लागि घोषित विपद् सङ्कटग्रस्त क्षेत्र मधेश प्रदेशमा आधाभन्दा बढी खेतीयोग्य जमिनमा धान रोपाइँ भएको छ । मधेश प्रदेशभरी ५७.२७ प्रतिशत हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा धान रोपाइँ भएको हो ।
मधेश प्रदेशमा पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य रहेको छ । जमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल जग्गमा धान रोपाइँ हुने गरेकामा अहिलेसम्म दुई लाख १३ हजार ३४८।९५ हेक्टर क्षेत्रफल जमिनमा मात्र धान रोपाइँ भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मधेशका चार जिल्लाको धान रोपाइँ अवस्था भने सन्तोषजनक रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार सबभन्दा बढी बारा र पर्सामा धान रोपाइँ भएको छ । पर्सामा ८५ र बारामा ८३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यस्तै रौतहटमा ७३ र सर्लाहीमा ६५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको सो मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा। सरोज चौधरीले जानकारी दिनुभएको छ । यी चार जिल्लामा धान रोपाइँ सन्तोषजनक रहेको उहाँको भनाइ छ ।
मधेश सरकारले सुक्खा क्षेत्र घोषणा गरेको मधेश प्रदेशका आठ जिल्लामध्ये चार जिल्लाको धान रोपाइँ अवस्था नाजुक रहेको छ । यतिबेलासम्ममा करिब ८०–८५ प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा महोत्तरी, सप्तरी र धनुषामा गरी तीन जिल्लामा अझैपनि ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ । महोत्तरी ३९।७३, सप्तरीमा ४० र धनुषामा ४० प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको उहाँले बताउनुभयो । सिरहामा पनि ५० प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।






