यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ / देशभर मनसुनी वायुको सक्रिय प्रभावले मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशका अधिकांश भूभागमा वर्षा हुने र विशेषगरी चार प्रदेशका तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको हो। हाल कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही सबै प्रदेशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।