राहदानी छपाइबाट करिब डेढ अर्ब बचत

by | साउन १९, २०८२

राहदानी छपाइबाट करिब डेढ अर्ब बचत

राहदानी विभागले दुई वटा फरक प्याकेजमार्फत नयाँ राहदानी छाप्ने भएको छ । विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीलाई प्याकेज १ र प्याकेज २ अन्तर्गत छनोट गरी राहदानी छपाइको प्रक्रिया अघि बढाएको हो ।

हाल खरिद भइरहेको प्रति राहदानी अमेरिकी डलर १०.१३ भन्दा आगामी खरिदबाट प्रतिराहदानी १.५२ सस्तो पर्ने र यो हिसाबले ६४ लाख राहदानी खरिद गर्दा महँगी हिसाब नगर्दा करिब एक अर्ब ३५ करोड बचत हुने भएको छ । प्याकेज १ अन्तर्गत प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमको ठेक्का जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसलाई एक अर्ब ५५ करोडमा ठेक्का दिइएको छ ।

प्याकेज २ को ठेक्का पनि जर्मनीकै भेरिडास कम्पनीलाई छ अर्ब ११ करोडमा प्रदान गरिएको छ । दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौताको तयारी भएकोमा प्याकेज २ को भेरिडाससँग गत सोमबार हस्ताक्षर भएको विभागले जनाएको छ । प्याकेज १ को कम्पनीसँग एकरदुई दिनभित्र सम्झौताको तयारी भएको छ ।

विभागका महानिर्देशक तीर्थ अर्यालले नयाँ छपाइका लागि दुई कम्पनी प्रतिस्पर्धात्मक टेन्डरमार्फत छनोट भएको जानकारी दिए । जर्मनीकै दुई वटा कम्पनी छनोट हुँदा हाल काम गरिरहेको कम्पनीले नपाएपछि पुनरवलोकनसँगै विवाद भएको थियो ।

सन् २०२० मा २० लाख विद्युतीय राहदानी छपाइका लागि छनोट भएको आइडिमियाले पटक पटक म्याद थप गरेर ७० लाखभन्दा बढी राहदानी छापिसकेको छ । थोरै मात्र राहदानी मौज्दात रहेकाले नयाँ राहदानी छपाइ छिटै सुरु गर्नुपर्ने दबाब छ । २०८१ को फागुन ९ गते दुबै बोलपत्र खोलिएको थियो । चार वटा कम्पनीले बोलपत्र पेस गरेका थिए ।

केही कम्पनीले पुनरावेदनका लागि निवेदन दिए पनि पुनरावेदन समितिले पनि विभागले गरेको निर्णयलाई सदर गरेपछि थप प्रक्रिया अघि बढेको हो ।