कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।
शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो। बोर्डले यस वर्ष वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ।
बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।






