वडा अध्यक्ष गौतम आफैले रोकेका थिए धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको रिफरल सेवा
धुलिखेल/नेपाल सरकारले स्वास्थ्य बीमा बोर्ड मार्फत नागरिकहरुको उपचारका लागि स्वास्थ्य बीमा गरेका नागरिकहरुलाई प्रथम सेवा विन्दु परिवर्तन गर्ने निर्णयलाई अस्विकार गर्ने प्रस्ताव धुलिखेल ८ का वडा अध्यक्ष एवं धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष स्वय विनोद गौतमको अगुवामाईमा भएको खुलासा भएको छ ।
आफै सेवा रोकेर राजनीतिकरण गर्न अभ्यस्त वडा अध्यक्ष गौतम सामाजिक सञ्जालमा समेत चर्काे नागरिकमैत्री जस्तो देखिएका छन् । उनैले लेखेका स्टाटस, उनी आफै उपस्थित भएर गरेको निर्णयले भने उनको क्रान्तिकारीता भने भंग गरेको छ । गौतमको देखाउने र चपाउने दाँत फरक भएको नागरिकहरुले विश्लेषण गरेका छन् । केहि दिन उनि आफैले लेखेको स्टाटसमा धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र प्राथमिकतामा छैन । उनले भनेका छन्– ‘हामी सबै जिम्मेवार छौं, धुलिखेलका सर्वदलीय नेताहरु, कांग्रेसका जिल्ला पदाधिकारीहरु, धुलिखेल नगरका सभापति, उपप्रमुख, वडा अध्यक्षहरु लगायतको ठुलो टोली, हाल प्रथम सेवा विन्दु परिवर्तनले स्वास्थ्य सेवामा भईरहेका् गम्भीर समस्याको समाधानको माग गर्दै नेपाली काँग्रेसका अभिभावक तथा केन्द्रीय सदस्य, पुर्व सांसद शिवप्रसाद हुमागाईको नेतृत्वमा, ज्ञापनपत्र दिन स्वास्थ्य मन्त्रालय पुग्यौं । हाम्रो माग स्पष्ट थियो धुलिखेल अस्पतालमा नै स्वास्थ्य सेवा विन्दु तत्काल सूचारु गरियोस ।’
‘२०८२ असार ३२ गते स्वंय गौतम अध्यक्ष रहेको वडा कार्यालय, स्वास्थ्य केन्द्र मार्फत तत्काल सेवा सूचारु गर्न नसक्ने निर्णय गराउन दवाब दिएका थिए’–नगरपालिकाले भन्यो–‘उनकै अनुरोधमा स्वास्थ्य शाखा समेतको परामर्शमा तत्कालका लागि धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु बनाउन नगरपालिका मार्फत स्वास्थ्य मन्त्री र स्वास्थ्य बीमा बोर्डलाई अनुरोध गर्ने निर्णय गरिएको थियो ।’ उनै अध्यक्ष अहिले डुक्रंदै हिडेको स्थानीयहरुले बताएका छन् । गौतमको उपस्थितीमा २०८२ असार २९ गतेको स्वास्थ्य बीमा बोर्डको परिपत्र अनुसार २०८२ साउन १ गतेबाट सरकारी स्वास्थ्य संस्था मात्रै प्रथम सेवा विन्दु हुने सन्र्दभमा हाल प्रथम विन्दुको रुपमा सेवा दिएको सामुदायिक अस्पताल धुलिखेलले रेफरल विरामीलाई मात्र सेवा दिन मिल्ने भन्ने ब्यवस्थाले गर्दा सेवाग्राहिलाई समस्या हुने देखिएको छ । परिपत्र अनुसार धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा विन्दु कायम हुने र उक्त केन्द्रमा विद्यमान पूर्वाधार लगायतका पर्याप्त जनशक्ति समेत नभएकाले वर्तमान अवस्थामा श्रावण १ गतेको दिनबाटै धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट विमा सम्वन्धी सेवा दिन नसक्ने जानकारी गराउँदै धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा विमा सम्वन्धी सेवा प्रदान गर्न चाहिने न्यूनतम पूर्वाधारको ब्यवस्था नहुँदासम्म धुलिखेल अस्पताललाई नै प्रथम सेवा विन्दु कायम गरिदिनका लागि विमा बोर्डलाई अनुृरोध गर्ने निर्णयमा उनै गौतमले हस्तक्षर गरेका छन् ।
नगरपालिकाले सोहि निर्णयका आधारमा आवश्यक तयारी गर्दै प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको थियो । यो अवधीमा नगरपालिकाले बार्षिक ६ करोड रुपैया नगरबासिहरुका लागि स्वास्थ्य बीमामा खर्च हुने प्रारम्भिक स्टमेट निस्किएको स्वास्थ्य शाखाले जनाएको छ । विमित नागरिकहरुको परिक्षण तथा औषधी उपचारका लागि त्यति रकम खर्च हुने देखिएको स्वास्थ्य शाखाले बताएको छ । तत्कालका लागि नगरपालिकाले धुलिखेल नगरबासि र धुलिखेलमा बसोबास गरिरहेका अस्थायी बसोबासीहरुका लागि बीमाको रिफरल सेवा उपलब्ध गराउने निर्णय गरेको छ । बीमा गरिएका बखत नागरिकहरुलाई स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु धुलिखेल अस्पताल नै राखेको थियो । स्थानीय सरकारको सहमति तथा समन्वय बीना नै संघीय सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जर्बजस्ति थोपर्ने गरी दायित्व समेत सिर्जना गराएर नागरिकहरुलाई हैरानी गराएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।
धुलिखेल नगरपालिकाले संघीय सरकारसँग थप सहकार्य र सहजीकरणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, वडा अध्यक्षहरु अर्जुन न्यौपाने, गणेश आचार्य, उत्तम तिमल्सिना, प्रमोदसुन्दर श्रेष्ठ, मोहनप्रसाद लामिछाने, एमाले धुलिखेल कमिटी अध्यक्ष विष्णु धिताल लगायतको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । नगर प्रमुख तथा अन्य जनप्रतिनिधिहरूको टोलीले धुलिखेल नगरपालिकाले हालसम्म गरेको प्रयास, प्राविधिक तथा आर्थिक पक्षमा आइरहेका चुनौती र संघीय सरकारको आवश्यक सहयोगको अपेक्षा सहित ज्ञापनपत्र बुझाएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमा देखिएका समस्याका बारेमा आवश्यक छलफल गरी तत्काल निर्णय गर्ने बताए ।
ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष ओलीसँग भएको भेटवार्तामा स्वास्थ्य बीमाको दायरा बढाउने, संघीय सरकारको बजेट साझेदारीको आवश्यकता र ग्रामीण भेगमा सेवा विस्तार सम्बन्धी विषयमा छलफल भएको थियो । स्वास्थ्य बीमाका कारण नागरिकहरुले पाएको सहजता र अहिलेको ब्यवस्थाले भएको दुख हैरानीका बारेमा नगर प्रमुख ब्याञ्जुले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका थिए ।
प्रथम सेवा सुरु
धुलिखेल नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा सुचारु गर्ने निर्णय गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले श्रावण २६ गतेदेखि धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट बीमाको प्रथम बिन्दुको रुपमा सेवा सुरु गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा धुलिखेल नगरवासी र धुलिखेल नगरपालिकामा अस्थायी बसोबास गरिरहेका नागरिकलाई मात्रै रेफर सहितको सेवा सुचारु गर्ने स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिए । थप जनशक्ति तथा पुर्वाधारको विस्तार भएपछि सम्पूर्ण सेवाग्राहीका लागि क्रमशः सेवा विस्तार गर्दै लगिने उनले बताएका छन् ।






