नगरकोटमा सट्टाबाजी (जुवा) खेलाउनेहरुको खातामा भेटियो ६८ लाख, ३८ लाख बचत, पक्राउ परेकालाई धरौटी

धुलिखेल/होटलको कोठा भाडामा लिएर दर्जनौ मोवाईल मार्फत सट्टाबाजी गर्ने गिरोहका सदस्यहरु धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले मण्डनदेउपुर नगरपालिका वडा नम्वर २ स्थित नाल्दुम भिलेज रिसोर्ट एण्ड ग्रिन पिस रेस्टुरेन्टबाट अनलाईन सट्टावाजी (जुवा) खेलाई रहेको अवस्थामा ५ जनालाई २०८२ असार ३० गते दिउसो २.३० बजे पक्राउ गरेको थियो ।

जुवा खेलाउने मुख्य अभियुक्त रोजल मर्हजन सहितले अन्यलाई सिकाएको बयानमा भनेका छन् । उनिहरुको समुहले अनलाईन जुवा खेलाएर ६७ लाख ९४ हजार ६ सय ६२ रुपैया खातामा ल्याएका थिए । जुवा खेल्ने क्रममा २९ लाख ५० हजार १ सय ३६ रुपैया बाहिरिएको थियो । उनिहरुको खातामा जुवा खेलाएर बचत रहेको रकम ३८ लाख ४४ हजार ५ सय २६ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्वर ७ घर भएका ३० बर्षिय एलिस कुस्मा, भक्तपुर नगरपालिका वडा नम्वर ४ का २६ बर्षिय संजिव कुशी, काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्बर १६ का ३२ बर्षिय रोजल महर्जन, भक्तपुर नगरपालिका वडा नम्वर ८ का ३१ बर्षिय दिगज नकर्मी र भक्तपुर ४ कै २५ बर्षिय रोशन प्रजापती पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोका न्यायाधीश शिवकुमार पोखरेलले २०८२ साउन १८ गते धरौटीमा छाड्ने आदेश दिएका छन् । उनिहरु धरौटीमा छुटेका छन् ।

प्रहरीले उनिहरुको साथबाट सट्टाबाजीका लागि प्रयोग गरिएको डेल कम्पनीको ल्यापटप एक थान, एचपी कम्पनीको ल्यावटप एक थान, लियोन कम्पनीको ल्यावटप २ थान, एसयुएस कम्पनीको ल्यावटप एक थान गरी पाँचवटा ल्यावटप बरामद गरेको थियो । त्यस्तै विभिन्न कम्पनीका १८ वटा मोबाईल, पाओर बैक र केहि नगद बरामद गरेको थियो । उनिहरुले प्रयोग गरेको एउटा गाडी र मोटरसाईकल समेत बरामद गरेको थियो । उनिहरुको साथमा नगद भने १७ सय ७५ रुपैया थियो ।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा जुवाको खाल सक्रिय रहेको सूचना प्रहरीले प्राप्त गरे पनि ब्यवसायीक रुपमा जुवा खेल्ने र खेलाउनेहरुलाई पक्राउ नगरेको स्थानीयहरुले बताएका छन् । विशेषगरी शहरी क्षेत्रमा ब्यवसायीक जुवा खेलाउने गरेको सूचना प्रहरी टोलीलाई जानकारी भए पनि बेवास्ता गरिएको बताईएको छ ।