रक्षा बन्धन

श्रावण शुक्ल पूर्णिमा पर्व यो रक्षा बन्धन,
फेरेर नयाँ जनई गर्ने ऋषिको तर्पण,
नुहाई ओरी ती तागाधारी अघिल्लै दिनमा,
हविस्य अन्न ग्रहण गरी जनाई फेर्नमा,

विशेष गरी मन्त्रेको डोरो नाडीमा बाँधिन्छ,
पवित्र सुत्र त्यसैलाई रक्षा बन्धन भनिन्छ,
नाडीमा डोरो गलामा यज्ञोपवित धरेर,
आशिष लिने मन्त्र त्यो दिव्य वैदिक पढेर,

फेरेर नयाँ जनई अनि जौतिल हातमा,
राखेर गर्ने हिन्दुले यहाँ ऋषिको तर्पण,
काश्यप अत्री ती भारद्वाज गौतम अगस्त्य,
श्री विश्वामित्र ती जमदग्नी वशिष्ठ समेत,

यी आठ ऋषि मनमा सम्झी तर्पण गरेर,
मानिन्छ पर्व भक्तिले भाव विभोर भएर,
गोसाईँकुण्ड पोखरी पाँच शिवका मन्दिर,
भक्तको भिड लाग्दछ खुबै श्रध्दालु बनेर,

ठोकेर ढ्याङ्ग्रो ती लामाहरू काम्दै र उफ्रदै,
यो पर्व मान्ने भव्यता साथ अत्यन्त खुसीभै,
मेलामा पुगी ब्राह्मण संग मन्त्रेको सूत्र त्यो,
नाडीमा बाँधी दिनेछन् तिन्ले पहेंलो त्यो डोरो,

पाक्दछ क्वाटी पोसिलो खाना सबैका घरमा,
ती गेडागुडी भिजाई पाक्ने मधुर आँचमा,
राखीको पर्व भनेर मान्ने मधेस प्रदेश,
पर्दछन् दङ्ग बहिनी दिदी त्यो राखी बाँधेर,

ती दाजुभाइ हर्षित हुने सुभाव पाएर,
पार्दछन् खुसी बहिनीलाई कोसेली दिएर,
मौलिक पर्व हिन्दुको यो त विज्ञान सम्मत,
संस्कृति हाम्रो जगेर्ना गरौँ ठानेर असल।

भोला के.सी.(भट्टराई), बनेपा -६
२०८२।०४।२४