ख्याकुमा ८३ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न, १७५ घरमा धारा जडान
पनौती/ दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी, सफा र स्वच्छ गाउँ हाम्रो अभियान भन्ने नारासहित ख्याकु देवीखोला कुलमत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा सफा र स्वच्छ समुदाय घोषणा तथा खानेपानी तथा सरसफाई आयोजना समुद्घाटन समारोह सम्पन्न भएको छ।
कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बन्जरा, वडा नं. ११ का अध्यक्ष विपिन लामा, आयोजनाका अध्यक्ष मोहन थापा लगायत स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
खानेपानी आयोजना अन्तर्गत विद्यालय र मन्दिरसहित १७५ घरमा खानेपानीको धारा जडान गरिएको छ। ख्याकु, बेसीगाउँ, महन्तटोल, महतटोल र घैँडाँडादेखि स्कुलसम्मका बस्तीहरू अब सुरक्षित र शुद्ध खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन्।
कुल ८३ लाख ४८ हजार ६४ रुपैयाँको लागतमा सम्पन्न उक्त आयोजना नेपाल स्वास्थ्यको लागि खानेपानी (नेवा) बाट ४२ लाख ४१ हजार ७ सय ७० रुपैयाँ,पनौती नगरपालिकाबाट १६ लाख ९१ हजार ४ सय ६१ रुपैयाँ र उपभोक्ताको श्रमदानबाट २४ लाख १४ हजार ८ सय ३३ रुपैयाँ बराबरको लागतमा सम्पन्न भएको हो।
नगरप्रमुख भण्डारीले स्थानीय समुदायको सक्रियता र एकताले यो आयोजना सफल भएको बताए । उनले पानीजस्तो आधारभूत सेवामा दिगोपन कायम गर्न अब व्यवस्थापन, मर्मत तथा निरन्तरता सुनिश्चित गर्ने खालको योजना बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख बन्जराले यो आयोजना विशेषगरी महिलाहरूका लागि परिवर्तनको सन्देश भएको र अब घर-घरमा धारा पुगेपछि महिलाहरूको समय, श्रम र स्वास्थ्यमा प्रत्यक्ष सुधार आउने बताइन् ।
आयोजनाका अध्यक्ष मोहन थापाले समुदाय, सहयोगी संस्था र सबै सरोकारवालालाई धन्यवाद दिँदै, भविष्यमा पनि स्वच्छता, दिगोपन र सेवा सुधारमा निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वातावरण संरक्षण, स्वच्छता, स्वास्थ्य र खानेपानीको प्रभावकारी उपयोगका विषयमा विविध वक्ताहरूले धारणा राखेका थिए ।






