गाईजात्रा कि भेंडाजात्रा

सप्ताह भरि के गाई जात्रा संधैनै देखिन्छ,
बेथिती हेर्दा लाजको मर्नु रेकर्डै तोडिन्छ,
राज्यको हित टाढाको कुरा स्वार्थ नै रोजिने,
हाम्रा त राम्रा काविल जति निकम्मा सोचिने,

भन्न त हामी स्वतन्त्र भन्छौं गोठालो पच्छ्याई,
खेदिन्छौं संधै भेंडाझै बनी विवेक गुमाई,
असल थियो गोठालो भने त्यो पनि ठिकैथ्यो,
अत्यन्त स्वार्थी अगुवा हाम्रा के भलो सोच्दथ्यो,

नबुझी मर्म सिट्ठीको भर्मा लाग्दछौं पछाडि,
छातीमा हात राखेर सोच्दा ठहर्छौं अनाडी,
कर्तुत कालो देखेरै पनि चिम्लन्छौं नयन,
यस्ता त हामी भेंडाका झुण्ड के गरौं वयान,

अर्काको खोट खोतल्छौं खुबै हेर्दैनौ ऐना त,
स्वतन्त्र भई चिन्तन गर्ने कोहीनै छैनौँ त,
भेडा झैँ हामी बुझ न सुझ दौडन्छौं सधैं नै,
विकृत कुरा भएको गर्यौं देखेको नदेख्यै,

हल्लाकै पछि दौडने हामी आँखा यी छोपेर,
देखिन्न कत्ति बसेको मान्छे सिर्जना रोपेर,
यो भाद्र कृष्ण परेवा तिथी वर्षेनी मानेको,
उपत्यकामा विशेष पर्व गाईजात्रा भनेको।

यो गाईजात्रे पर्व थ्यो हाम्रो विकृति उधिन्ने,
शासक अनि नेताको कालो कर्तुत खोतल्ने,
अहिले मात्र होईन यहाँ शासक अगुवा,
जनता पनि त्यस्तैनै भयौं विकृत भडुवा,

हा हा मा कुद्छौ त्यो चुरो कुरो पटक्कै बुझ्दैनौ,
प्रयोग कस्ले गर्दैछ त्यता बिल्कुल सोच्दैनौ,
देशमा अब साँपारु होइन भेडाको जात्रा पो ,
राखेर नाम मनाऔं पर्व मिल्दो त होला त्यो।
जय भेडा जात्रा ।
भोला के.सी. (भट्टराई)
बनेपा,बुडोल गाईजात्रा २०८२