पनौतीको ख्याकुमा चर्तुमाशा भागवत : धार्मिक, सामाजिक र सांस्कृतिक चेतनाको केन्द्र

पनौती /लक्ष्मी नारायण पाँचायन मन्दिर निर्माण, संरक्षण तथा सम्बर्धन समितिको आयोजनामा पनौती नगरपालिका–११, पिपलबोट ख्याकुमा जारी चर्तुमाशा भागवत कथा वाचन धार्मिक तथा सामाजिक चेतनाको केन्द्र बन्दै गएको छ।

प्रमुख वाचक पण्डित गुरु हरिहर सुवेदी र पण्डित बद्री सुवेदीको प्रमुख वाचनसहित विशुनाथ अर्याल, राधाकृष्ण सत्याल, मकुन्द अर्याल, दिनेश पौडेल र माधव आचार्यको सक्रिय सहभागीता रहेको चर्तुमाशा भागवतमा दैनिक सरदर २०० भक्तजनको उपस्थिति रहन्छ।

तीन दशकअघि पनि चर्तुमाशा भागवत भएको स्मरण गर्दै स्थानीय लक्ष्मी बहादुर थापा भन्नुहुन्छ, “यो चर्तुमाशा भागवत जिल्लाकै उत्कृष्ट हो।”स्थानीय विष्णु हुमागाईंका अनुसार यस्ता धार्मिक कार्यक्रममा सहभागिताले समाजमा धार्मिक आस्था मात्र होइन, सामाजिक एकताको भावना समेत मजबुत हुने गरेको छ।

चर्तुमाशा भागवतमा सहभागी सुवर्ण थापा यस कार्यक्रमबाट भगवानको लिला र धार्मिक ज्ञान पाएकोमा खुशी व्यक्त गर्नुहुन्छ। दैनिक दिउँसो ३ बजेपछि किर्तन, पूजा, भजन कार्यक्रम सञ्चालन हुने गर्दछ। यसका लागि धनेश्वर महादेव मन्दिरका पूजारी विदुर जंगम नियमित रूपमा सहभागी रहनुहुन्छ।

चर्तुमाशको अवधिमा भगवान विष्णुले हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म बलिराजाको पाताललोकमा शयन गर्ने पौराणिक विश्वास रहेको प्रमुख वाचक पं. गुरु हरिहर सुवेदीले जानकारी दिनुभयो।यस अवधिमा शिवजीको आराधना, नाग पूजा, जनै पूर्णिमा, तीज, पितृ तर्पण, देवी पूजा, नवरात्र, तिहारजस्ता प्रमुख चाडपर्वसमेत पर्दछन्। त्यसैले चर्तुमाश धार्मिक उत्सवको रूपमा मनाइन्छ। साथै, यही अवधिमा सत्संग, विशेष पुराण वाचन, व्रत बस्ने, तीर्थ दर्शन जस्ता गतिविधि अत्यन्त लाभदायक हुने धार्मिक मान्यता रहेको सुवेदी बताउनुहुन्छ।

पनौती वडा नम्बर ११ को वडा कार्यालयको ५ लाख रुपैयाँको बजेटबाट सुरु गरिएको लक्ष्मी नारायण पाँचायन मन्दिरको निर्माण कार्यमा हालसम्म १८० भन्दा बढी व्यक्तिको व्यक्तिगत सहयोग प्राप्त भइसकेको छ। यसै आधारमा मन्दिरको बाहिरी संरचना र सत्तल निर्माण सम्पन्न भइसकेको समितिका अध्यक्ष महेश थापाले जानकारी दिनुभयो।

स्थानीय वासिन्दा वडाभरका हरेक घरबाट पालैपालो एक दिनको पूजा सामग्री र खर्च प्रदान गर्दै चर्तुमाशा भागवतलाई निरन्तरता दिइरहेका छन्। धार्मिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि चर्तुमाशा भागवत एउटा प्रेरणादायी अभ्यास बन्न पुगेको छ।