राष्ट्रिय युवा संघ नेपाल काभ्रेको ११ औ अधिबेशन उद्घाटन

‘केन्द्रिय कमिटीले स्थगितको पत्र नपठाएकाले अधिबेशन गरको हौ’–अध्यक्ष सापकोटा

धुलिखेल/उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिबेशन आयोजक कमिटीको संयोजक तथा ११ औ जिल्ला अधिबेशनबाट सर्वसम्वत अध्यक्ष बनाउनु पर्ने एक सुत्रिय अभियानमा होमिएको राष्ट्रिय युवा संघ नेपाल काभ्रेका केहि युवा तथा पार्टी नेताहरुको अवरोधका बाबजुत १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व गराउँदै राष्ट्रिय युवा संघ नेपाल काभ्रेको अधिबेशन उद्घाटन गरिएको छ ।

अधिबेशन उद्घाटनका लागि केन्द्रिय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथी बनाईएको भए पनि सहभागि भएनन् । अधिबेशनको उद्घाटन एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलले गरे । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आफ्नो पुर्व निर्धारित कार्यक्रम तय भईसकेकाले प्रमुख अतिथीका रुपमा आउन नसक्ने मौखिक जानकारी अध्यक्ष इश्वरबल्धव सापकोटालाई गराएका थिए ।

पहिलो पटक तोकिएको अधिबेशन सहमति र सहकार्यमा जाने गरी साउन २५ गतेसम्मलाई सार्ने गरी केन्द्रिय उपाध्यक्ष र महासचिव सहितको बैठकले गरेको थियो । त्यस पछि पनि केन्द्रिय अध्यक्ष, महासचिव सहितको समुह जिल्लामा तोकिएको अधिबेशन सर्वसम्वत बनाउने प्रयत्नका साथ छलफलमा बस्यो । उक्त छलफलमा पनि अधिबेशन सार्न, अधिबेशनबाट रुपकजंग रायमाझीलाई अध्यक्ष वा अधिबेशन आयोजक कमिटीको संयोजक अर्थात केहि उप समितिहरुको हेरफेर गर्ने प्रस्ताव गरिएको थियो ।

अध्यक्ष सापकोटाले अधिबेशन नसार्ने तर प्रस्तावहरुका सन्र्दभमा सकेसम्म सहमति र नसके प्रतिस्पर्धामा जाने वातावरण निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । केन्द्रिय महाधिबेशनमा पराजय ब्यहोरी त्यहि दिन मनोनित भई केन्द्रिय समितिको पछिल्लो बैठकबाट जिल्ला इन्चार्ज तोकिएका सागर रायमाझी समेत उक्त छलफलमा सहभागि थिए । उनको एउटै अनुरोध अधिबेशन जसरी पनि सार्ने, साउन महिना सकिए लगत्तै जिल्ला कमिटीको अवधी पुरा हुने भएकाले उपाध्यक्ष रुपकजंग रायमाझीलाई संयोजक तोक्न, अधिबेशनबाट उनैलाई अध्यक्ष बनाउने जोडबल गरेका थिए ।

अधिबेशनबाट निर्वाचित भएर आए स्विकार्ने भन्दै अधिबेशन सूचारु गर्न, प्रतिनिधि छनौट गर्न बाँकी पालिका कमिटीमा प्रतिनिधि चयन गर्न सहज गर्न अनुरोध गरेको भए पनि उनले नमानेको छलफलमा सहभागि नेताले जानकारी दिए । बरु उल्टै अधिबेशनको दिन विहान एकाएक प्रदेश कमिटीको अध्यक्षका नाममा विद्यान विपरित अधिबेशन स्थगित भएको पत्र सार्वजनिक गरेर संगठन भित्रको विवादलाई छताछुल्ल गराएको अध्यक्ष इश्वरबल्धव सापकोटाले बताए ।

अधिबेशनको उद्घाटन राजन भुर्तेलले गरे । उनले पार्टी भित्रको अराजकता र गुटबन्दि अस्विकार्य हुने बताउँदै अवधी सकिएका सबै जनसंगठन र पार्टी कमिटीहरुको अधिबेशन समयमा नै सम्पन्न गर्ने केन्द्रकै निर्देशन अनुसार तोकिएका अधिबेशनमा कसैको हस्तक्षेप अस्विकार हुने बताए ।

उद्घाटन सत्रमा एमाले प्रदेश कमिटीका सदस्यहरु रिता ढकाल, कुमार तिमल्सिना, गिता सुनुवार, जिल्ला कमिटीका पदाधिकारीहरु उपाध्यक्ष देवसागर लामा, उप सचिव रत्नकुश रञ्जित, युवा संघका केन्द्रिय सदस्य मिलनसागर लामा, पालिका कमिटीका अध्यक्षहरुले मन्तब्य राखेका थिए । भब्य रुपमा उद्घाटन गरिएको उक्त अधिबेशनका सन्र्दभमा रुपकजंग रायमाझी लगायत युवा संघका केहि पदाधिकारीहरु, पालिका कमिटीका केहि पदाधिकारीहरु र पार्टी नेताहरुकै सहभागिता रहेन ।

अधिबेशनको बन्द सत्रले नयाँ कमिटी चयन गर्ने बताईएको छ । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष इश्वरबल्धव सापकोटाले आफ्नो कार्यकालमा फुटसल, बृक्षारोपण तथा युवा सम्मान जस्ता महत्वपूर्ण कार्यहरु भएको उल्लेख गरे । कार्यक्रम सचिव सिवी तामाङले संचालन गरेका थिए ।

अध्यक्ष सापकोटाले अधिबेशन स्थगित गर्ने परिपत्र प्रदेशले नभई केन्द्रिय कमिटीले मात्रै गर्न सक्ने उल्लेख गरे । विद्यानत जिल्ला कमिटी सम्वन्धीत प्रदेश भित्रको नेतृत्वदायी कमिटी हुने उल्लेख छ । जिल्ला कमिटी ४५ सदस्यीय हुनेछ ।