अधिवेशन रोक्ने प्रयास असफल, राष्ट्रिय युवा संघ काभ्रेमा सर्वसम्मत नेतृत्व चयन

राष्ट्रिय युवा संघ नेपाल काभ्रेको ११ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो । अध्यक्षमा सिवि लामा निर्वाचित भएका छन् । उपाध्यक्षमा रमेश बुढाथोकी, सचिवमा अमन धिताल, सहसचिवमा राजेन्द्र लामा र सगुन थापा तथा कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल निर्वाचित भएका छन् ।

अधिवेशन हुन नदिन केहि युवा र पार्टीका नेताहरुले लगाएको बल खेर गएको छ । अवरोधका विभिन्न प्रयासलाई असफल बनाउँदै इश्वर बल्लभ सापकोटा नेतृत्वको कमिटीले सफलतापुर्वक अधिवेशन सम्पन्न गरेको छ । उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिबेशन आयोजक कमिटीको संयोजक तथा ११ औ जिल्ला अधिबेशनबाट सर्वसम्वत अध्यक्ष बनाउनु पर्ने एक सुत्रिय अभियानमा लागेका काभ्रेका केहि युवा तथा पार्टी नेताहरुले अधिवेशन रोक्न सक्दो बल लगाएका थिए ।

यद्यपी उक्त प्रयास विफल भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले गरेका थिए । अवरोधको प्रयासकाबीच १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व गराउँदै अधिवेशन सुरु गरिएको थियो । अधिबेशन उद्घाटनका लागि केन्द्रिय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथी बनाईएको भए पनि सहभागि भएनन् । अधिवेशन रोक्न आज बिहानै प्रदेश कमिटी अध्यक्षको नामको निर्देशनपत्र समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । प्रदेश कमिटीको काम समन्वय गर्ने मात्र भएको र कार्यकारी अधिकार भएको केन्द्रीय कमिटीले कुनै निर्देशन नदिएका कारण अधिवेशन सुरु गरिएको थियो ।

यसअघि साउन १७ गतेका लागि अधिवेशन तोकिएको थियो । तर, असन्तुष्ट पक्षको माग संवोधनका लागि भन्दै एक साताका लागि अधिवेशनको मिति सारिएको थियो । असन्तुष्ट पक्षले कुनै पनि हालतमा अधिवेशन सारेर रुपक रायमाझीलाई अध्यक्ष बनाउने तयारी गरे पनि सफल हुन भने सकेनन् । हिजोमात्रै विभिन्न पालिकाबाट प्रतिनिधित्व नहुने पत्रसमेत सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै अधिवेशन रोक्न दबाब दिइएको थियो ।