५९ औं श्रीमद्भागवत १०८ सप्ताह ज्ञान महायज्ञपूर्व बनेपामा भव्य कलश शोभायात्रा सम्पन्न
बनेपा/ भोलिदेखि सुरु हुने ५९ औं श्रीमद्भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञको पूर्वसन्ध्यामा बनेपामा आज बाजागाजासहित भव्य कलश शोभायात्रा निकालिएको छ। स्थानीय भक्तजनहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यो यात्रा सप्ताहको आधिकारिक सुरुआतको प्रतीक हो ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिएको यस महायज्ञमा भगवान श्रीकृष्णको झुला महोत्सव, श्रावणी मेला र पावन जन्माष्टमी पर्व पनि समेटिनेछन्। साउन २६ गतेदेखि भदौ १ गतेसम्म प्रत्येक दिन श्रीमद्भागवत वाचन हुनेछ, जसमा प्रखर वाचक पं. श्री शिवप्रसाद सापकोटा र पाठपरायण वाचक पं. श्री विष्णुप्रसाद तिमल्सिनाले वाचन गर्नुहुनेछ ।

विशेष जन्माष्टमी कार्यक्रम साउन ३१ गते भव्य रूपमा विविध सांस्कृतिक तथा धार्मिक गतिविधिसहित मनाइनेछ। सप्ताह पितृ उद्धार, प्रेतमोक्ष, दुःख नाशन तथा विश्व शान्तिको कामनासहित आयोजना गरिएको हो। भदौ १ गते तिलार्पण, पूर्णाहुति तथा विधिवत समापन गरिनेछ ।
आयोजक ५९ औं सप्ताह व्यवस्थापन समिति परिवारले सबै श्रद्धालु भक्तजनलाई श्रीमद्भागवतको अमृतरसमा सहभागी भई पुण्य कमाउन हार्दिक आमन्त्रण गरेका छन् ।





