बाबुको काजक्रियामा छोरीहरू, समाजको बहिष्कारको सामना
बाबुको निधनपछि छोरीहरूले काजक्रिया गर्दै तस्वीर: नवराज भुर्तेल
बनेपा/ बाबुको निधनपछि छोरीहरूले काजक्रिया गर्दा नजिकका दाजुभाइको बहिष्कारमा परेपछि काभ्रेका तीन छोरीहरूले समाजको पुरातन सोचविरुद्ध कडा सन्देश दिएका छन्।
९१ वर्षका हरिप्रसाद सापकोटाको हृदयाघातका कारण आइतबार निधन भयो। छोरा नभएका सापकोटाको अन्त्येष्टिमा उनकी छोरीहरूले नै दागबत्ती दिएका छन्। त्यसपछि काजक्रिया समेत छोरीहरूले नै थाल्दा केही नजिकका आफन्त र दाजुभाइहरूले आपत्ति जनाउँदै सामाजिक बहिष्कारजस्तै व्यवहार देखाएको छ।
काजक्रियामा बसेकी छोरीहरूमध्ये बिमला बनेपा नगरपालिकाकी उपप्रमुख हुन्। राधिका नेकपा एमाले धादिङ जिल्ला कमिटीकी सचिव र निर्मला शिक्षिका हुन्। उनीहरूले बाबुको श्रद्धाञ्जलीका रुपमा समाजलाई नयाँ चेतना दिने काम गरेका छन्।
छोरीहरूको यो निर्णयले समाजमा विद्यमान लैंगिक विभेद, महिलामाथिको परम्परागत सोच र संस्कारप्रतिको पुनर्विचारको खाँचोलाई सतहमा ल्याएको छ ।
उपप्रमुख बिमला सापकोटाले सामाजिक सञ्जालमा भावुक हुँदै लेखेकी छिन्, “ख्याल गर, तिमीहरूले चलाएको बहस कानून र संविधानको पनि बर्खिलाप छ। हामीले गरेको यो कामले हजारौं छोरीमाथि न्याय हुनेछ। खबरदार, यो छलफल र बहस रोकी हाल, हामी बहिष्कार हुन तयार छौं।”
उनले थप लेखेकी छिन्, “१३ दिन हाम्रो बुवाको घरमा बसेर काजक्रिया गर्न देऊ, पीडा नदेऊ। १३ दिनपछि सधैंका लागि माइतीको ढोका बन्द गरेर कर्मघर फर्कने छौं। समाजको डर लाग्नेहरू कृपया हामीलाई साथ दिनुपर्ने बाध्यता नसम्झनु, तपाईं स्वतन्त्र हुनुहुन्छ।”
राजनीति, शिक्षाक्षेत्र र सामाजिक सचेतनामा सक्रिय यी छोरीहरूले बाबुको मृत्युपछि समाजको गहिरो विभेदको सामना गर्दै समानताको पक्षमा दृढ कदम चालेका छन्। उनीहरूको यो साहसिक निर्णयले महिला अधिकार र लैंगिक समानताप्रति बहस पुनः सतहमा ल्याएको छ।






