बाको बिँडो थाम्ने छोरीहरू

✍🏼 प्रकाश सापकोटा

ती रोगी आमा
कुनाको अँगेनोमा
चीसा दाउरा फुक्थिन्
धूवाँको मुस्लोमा रूमल्लिन्थिन्
एक कप चिया उमाल्न
लिनु थियो एक मोहर नाफा
तीन मोहरमा बेचेर- जीवन चलाउन

उनीहरू
कहिले चियामा चिनी पुगेन भन्थे
कहिले गिलाँसमा चिया पुगेन भन्थे
तर कहिल्यै भनेन्-
आमा, तिमीलाई आराम पुगेन

फोक्सोमा त्यही धूवाँ भरिएर
छातिबाट मुटु नै मुखमा आउला झैँ
खोक्दा खोक्दा, खोख्दा खोख्दै
मझेरीमै लडेर आमा, धूवाँ गएकै बाटो
धूवाँ भएर जाँदा
कहाँ थिए होला उनीहरू ?
हामीले त एक्लै देख्यौँ बालाई !

आमासँगै गए होलान्
आमाले मात्रै सम्झिएका
खातामा नटिपेका उधारोहरू
कत्तिले बिर्सिएर तिरेनन् होला
कत्तिले सम्झेर तिरेनन् होला
त्यो बाले कहिल्यै खोजी गरेनन्

पालै पालो बस्थ्यौँ हामी
त्यो अँध्यारो कुनामा
पुनः आगो जगाउने बहानामा
धूवाँभित्र आमालाई खोज्न
बुझ्नुहुनथ्यो बा
पुछ्नुहुन्थ्यो आँसु
उठ्नुहुन्थ्यो अनायास
हल्लिएको कोदालीको बिँड मिलाएर
लाग्नुहुन्थ्यो घट्टाचौरको खेततिर
आलुका ड्याङ उठाउन
‘नत्र, केले भोक मार्नु !’
पछि लाग्थी अशक्त बहिनी
हल्लिएको कोदालीको बिँडभन्दा ज्यादा
हल्लाउँदै उसको शरिर
लड्थी, उठ्थी, रून्थी,
निदाउँथी र सपना देख्थी
बर्बराउँदै सपनामा
‘आमा’ पुकारेको थाह पाएर
उतै बोलाउनुभो आमाले उसलाई
निर्बल निरूपाय निसहाय लर्खराउँथी ऊ
साहरा दिनु साटो खिस्याउँथे उनीहरू
कलिलो बिहानीमा
अलबिदाका हात हल्लाउँदै
हामीले मात्र देखेका वायुपङ्खी घोडामा
जब पर-पर गईरहेथी ऊ
कहाँ थिए होला उनीहरू?
हामीले त एक्लै देख्यौँ बालाई

शोकमा एक्लै देख्यौँ बालाई
भोकमा एक्लै देख्यौँ बालाई
चोकमा एक्लै देख्यौँ बालाई
उनीहरूले-
कुल धान्ने एउटा छोरो चाहिरहँदा
झोकमा एक्लै देख्यौँ बालाई-
‘आफ्नै रगतका डल्लाहरू पनि
भाले र पोथी हुन्छन् र ?’

हामीलाई बाले छोरी भन्नुभएन
हामीलाई बाले छोरा भन्नुभएन
बाले त हामीलाई मुटु भन्नुभयो
हामीले बालाई धड्कन भन्यौँ
बा- आफू थलिनु अघि
हामीलाई ओखती दिएर जानु भो
बा- आफू रोकिनु अघि
हामीलाई गति दिएर जानु भो
बा- वचन रहनु अघि
हामीलाई आवाज दिएर जानु भो
बा- अस्ताउनु अघि
हामीलाई प्रकाश दिएर जानु भो

आज हामी
बाकै पाइलामा टेक्न खोज्दैछौँ
काला बादल छेक्न खोज्दैछौँ
तर –
प्रकृतिका फूलहरू झारेर
काँडाहरूले घोच्न आउँछन् उनीहरू
अझै घाम नलागेको
संस्कारको घैँटोमा अटाउन
अब के –
हामी लिङ्ग परिवर्तन गरेर आऊँ ?