माओवादी केन्द्र र एकीकृत समाजवादीबीच निरन्तर संवाद, पार्टी एकताको आधार खोजिँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहकार्य बलियो बनाउन निरन्तर संवाद चलिरहेको छ । समाजवादी मोर्चामा रहेका यी दुई दलले सातै प्रदेशका इञ्चार्जसहित छलफललाई निरन्तरता दिएका छन् ।
मंगलबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सहयोगी नेताहरुसहित ‘सम्बन्ध’ सुधारबारे छलफल भएको छ । छलफलमा केन्द्रदेखि प्रदेश तहसम्म सहकार्यलाई बलियो बनाउने, त्यसका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउन निष्कर्ष निस्किएको छ ।
दाहाल र नेपालले दुवै दलका प्रदेश इञ्चार्जहरुबाट दुई दलको सहकार्य र पार्टी एकताका लागि आधार बन्न सक्नेरनसक्नेबारे धारणा बुझेका छन् । प्रदेश इञ्चार्जहरुले पहिलो चरणमा सहकार्य बलियो बनाएर पार्टी एकताको आधार बन्न सक्ने सुझाव दिएका छन् ।
बैठकमा सहभागी समाजवादी उपाध्यक्ष बेदुराम भुसालले पहिलो चरणमा दुई दलबीच सहकार्य बलियो बनाउनेबारे निरन्तर छलफल भएको बताए । ‘दुई दलबीच सम्बन्ध सुधारका लागि निरन्तर छलफल भइरहेको छ’, उनले भने, ‘सहकार्य गर्दै जाँदा बलियो आधार तयार भए पार्टी एकतासम्म जान सकिन्छ भन्ने कोणबाट कुराकानी भएको छ ।’
दुई दलका शीर्ष नेता दाहाल र नेपालले प्रदेशका इञ्चार्जसहित मधेशबाहेक छ प्रदेशको छुट्टाछुट्टै छलफल गरिसकेका छन् । ‘छ प्रदेशका इञ्चार्जसहित छलफल भइसकेको छ । पहिलो चरणमा सहकार्यलाई जोड दिन सुझाव छ ।
माओवादी सचिव देवेन्द्र पौडेलले दुई दलबीच संसद् र सडकमा कसरी सहकार्य गर्न सकिनेबारे कुराकानी भएको बताए ।






