ज्येष्ठ नागरिकहरु ! प्रशासनको दैलोमा लम्पसार !
दिन: सार्वजनिक कार्यालय खुल्ने दिन !
समयः विहान ९ः४५ बजे !
स्थान:७७ वटै । जिल्ला प्रशासन कार्यालयको मुख्य ढोका !
……..
करीब १५–२० जना ७० वर्ष भन्दा माथि जस्तो उमेर भएका ज्येष्ठ नागरिकहरु ! कतिपय उनिहरुका संरक्षक, कोही आफैँ एकल, करीब २०–२५ जना विभिन्न उमेर समूहका युवा युवती, कोहीा गर्भवती, कोही दुधौले बच्चाको आमा, कोही फरक क्षमताका (अपांगता हुन पुगेका) महिला पुरुष, अधबैँसे पुरुष तथा महिलाहरुको प्रतिक्षारत लहर !
……..
समय: १०ः०० बजे
मुख्य ढोका खुल्छ । लहरमा उभिनेहरु हुरुरु कार्यालय परिसरमा एक्कासी घचेटाघचेट गरेर प्रवेश गर्छन, कतिपय कार्यालयका मुलढोकाहरु ज्येष्ठ नागरिक लगायत अन्य क्षमता भएकाहरुका लागि मैत्री छैनन्, त्यहाँ असहज जस्तो हुन्छ, कोही लडखडाउदै भित्र पुग्छन, हतार गरेर, छिटो आएको छु, मेरो काम पहिले हुन्छ, भन्ने उत्कट अभिलाषामा !
समय १०ः१५
कर्मचारीहरु पनि समय मै आइपुगेको छन, १० बजे नै, हाजीरी नियमित प्रकृया पुरा गर्दै, कार्य कक्षको कम्प्युटर लगायत अरु समान सुचारु गर्दै १०ः३० बज्नु सामान्य हो ।
लहरमा पहिले आउनेलाई पालैपालो बसाउँदै गर्दा फेरि त्यहाँ हुरुरु ५०–६० जना सेवाग्राही आईपुग्छन, कहाँ ? कुन कोठामा ? कुन काम हुने हो ? भन्ने थाहा नपाएपछि जो जहाँ जुनसुकै ठाँउमा बलजफ्ती जान प्रयत्न गर्ने स्वभाविक नै भयो ।
त्यसपछि त पहिलेको लहर सबै तितर वितर, एक दुई सुरक्षाकर्मीले कुन लहरलाई अनुशासनमा राख्न सक्नु ?
कोहीको नयाँ नागरिकता, कोहीको राष्ट्रीय परिचयय पत्र, कोहीको पासपोर्ट, कोहीको नागरिकताको प्रतिलिपी, कोहीको संस्था दर्ता तथा नविकरण, कोहीको सुरक्षित आप्रवासनको काम, कोहीको फौजदारी मुद्दा ईत्यादी …..
प्रसंग: ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचय पत्र
………..
विहान १० बजे ढोकामा धकेलाधकेल गरेर छिरेका ज्येष्ठ नागरिकहरु भित्रको लहरमा बसेपनि कसैलाई बारम्वार शौच जानुपर्ने, कोही कडा बेञ्चमा बसिरहन नसक्ने, कोही अडेस नभै बसिरहन नसक्ने, कोही टाढा देखि विहानै केहि नखाई हिड्नु परेको, कोही सम्झने शक्ती नभएका आदि विभिन्न ज्येष्ठ नागरिकहरु !
कोही ५–६ दिन अगाडि नै आवेदन फाराम भरेर तोकिएको दिनमा आएका, कोही त्यहि दिन फाराम भरेर आएका !
………….
अत्यन्त कठीन परिवेशमा धेरै जनाले आफ्नो काम सम्पादन गरेर हिडेँ पनि कतिपयले विविध कारणले दुखीत हुदैँ रित्तै हिड्नु परिरहेको छ ।
हरेक सार्वजनिक सेवा प्रदान गर्ने सरकारी कार्यालयले आफ्नो उपलवब्ध जनशक्ती, संयन्त्र र प्रविधि, समय र सम्भावित सेवाग्राहीको चापलाई समयानुकुल आंकलन गरी उपयुक्त ब्यवस्थापनका लागि समयमै आवश्यक कदम चाल्नु आजको आवश्यकता हो । (जेष्ठ नागरिकहरु सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्दाको अनुभुतिमा आधारित ।)





