प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, प्रधानमन्त्रीले आफ्नो हालैको विदेश भ्रमण र देशको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिका विषयमा सदनलाई जानकारी गराउनेछन् । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले पनि प्रधानमन्त्रीले बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको पुष्टि गरे । उनका अनुसार, प्रधानमन्त्रीको सम्बोधन हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमण र अन्य समसामयिक विषयमा केन्द्रित रहनेछ ।

प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा भ्रमण गरी स्वदेश फर्किएका थिए । उक्त भ्रमण र सम्मेलनका उपलब्धिबारे उनले सदनलाई विस्तृत जानकारी गराउने अपेक्षा गरिएको छ ।