विष्णु माझीको नयाँ तिज गीत सार्वजनिक

तिजको बेला हरेक वर्ष नेपाली दर्शकश्रोताले पर्खेर बस्ने विष्णु माझीको नयाँ गीत आज सार्वजनिक भएको छ । उनको ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक भएको हो ।

केही सिमित पुराना तस्वीरबाहेक सार्वजनिकरुपमा नदेखिएर पनि सुरिलो गायकीले श्रोताको मुटुमा आफ्नो नाम नमेटिने गरी लेखाइसकेकी माझीले सधैँझैँ यसपटक पनि आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् ।

विष्णु माझीका गीत केवल नाचगानमा सीमित हुँदैनन्, तिनले नेपाली समाजका चेलीबेटीका गहिरो कथा र वेदना बोकेका हुन्छन्। ‘म त नराउरी’ ले पनि यही परम्परालाई निरन्तरता दिएको छ ।

‘म त नराउरी, आम्मै, म त नराउरी’ गीतको मूल बोल हो । तर, समग्रमा भने ‘आमा, म खराब छैन, मैले आफ्नो कर्तव्य पूरा गरेकी छु, म असल बुहारी या श्रीमती हुँ’ भन्ने सन्देश दिइएको छ ।