वैदेशिक अध्ययनको यात्रालाई सहज, सुरक्षित र पारदर्शी बनाउन इक्यान शैक्षिक मेलाः अध्यक्ष रायमाझी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रेपलाञ्चोक शाखाले यहि साउन ३० गते बनेपामा शैक्षिक मेला आयोजना गरेको छ । काभ्रे जिल्लामा पहिलोपटक आयोजना गरिएको बहुगन्तव्य शैक्षिक मेलालाई चासोका साथ हेरिएको छ । मेलामा विभिन्न देशका विश्वविद्यालय र कलेजका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थितीमा नेपाली विद्यार्थी, अभिभावकलाई प्रत्यक्ष परामर्श, आवेदन, स्कोलरशिप र भिसा प्रक्रियासम्बन्धी जानकारी प्रदान गर्ने इक्यान काभ्रेले जनाएको छ । यसले विद्यार्थीलाई अध्ययनका लागि सही निर्णय लिन सहयोग पु¥याउनुका समथै शैक्षिक अवसरहरूको पहुँच सहज बनाउने विश्वास लिइएको छ । यसै सन्दर्शमा इक्यान काभ्रे शाखाका अध्यक्ष भुवन रायमाझीसँग इक्यान शैक्षिक मेला के हो, मेलामा विद्यार्थी र अभिभावकको उपस्थिती किन महत्वपूर्ण छ, इक्यानले विद्यार्थी विदेश पठाउने मात्रै हो की, नेपालको उच्च शिक्षालाई पनि प्रमोट गर्छ ? यी लगायतका विषयमा कुराकानी गरेका छौं ।

इक्यान शैक्षिक मेला के हो ?
इक्यान शैक्षिक मेला नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रेद्वारा आयोजित एकदिने शैक्षिक कार्यक्रम हो । जहाँ विभिन्न देशका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरू एक ठाउँमा भेला भई विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष परामर्श, आवेदन, स्कोलरशिप र भिसा प्रक्रियासम्बन्धी जानकारी प्रदान गर्छन् । यसले विद्यार्थीलाई अध्ययनका लागि सही निर्णय लिन सहयोग पु¥याउँछ र शैक्षिक अवसरहरूको पहुँच सहज बनाउँछ । काभ्रे जिल्लामा यो स्तरको बहुगन्तव्य शैक्षिक मेला पहिलो पटक हुँदैछ । यसको मुख्य उद्देश्य विद्यार्थी र अभिभावकलाई विदेशी शिक्षासम्बन्धी सही, विश्वसनीय र प्रत्यक्ष जानकारी एउटै मञ्चमा उपलब्ध गराउनु हो । अहिले धेरैजसो विद्यार्थीहरू काठमाडौँसम्म जानुपर्ने बाध्यता छ, तर यस मेलाले आवश्यक जानकारी र युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुविधा काभ्रेमै उपलब्ध गराउनेछ । साथै, यसबाट स्थानीय विद्यार्थीहरूलाई समय, खर्च र मेहनत दुबैको बचत हुनेछ, र उनीहरूलाई आफ्नो भविष्यका लागि सूचित निर्णय लिन मद्दत पुग्नेछ ।


मेलामा अभिभावक र विद्यार्थी किन आउने ?
यो मेला विद्यार्थी मात्र होइन, अभिभावकका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । विद्यार्थीहरूले आफ्ना रुचि, क्षमता र लक्ष्यअनुसार उपयुक्त देश, कोर्स र विश्वविद्यालय छनोट गर्न प्रत्यक्ष सल्लाह पाउँछन् । अभिभावकले भने पढाइको गुणस्तर, खर्च, स्कोलरशिप, बसोबास र भविष्यको रोजगारी सम्भावनाबारे आधिकारिक जानकारी पाउँछन् ।
सबै गन्तव्यका विश्वविद्यालयका प्रतिनिधि, अनुभवी परामर्शदाताहरू, र आवश्यक सेवाहरू एउटै मञ्चमा उपलब्ध हुने भएकाले यो अवसर गुमाउनु हुँदैन । यसले अभिभावक–विद्यार्थीलाई सही निर्णय लिन सजिलो मात्र होइन, सुरक्षित र पारदर्शी मार्ग रोज्न पनि सहयोग पु¥याउँछ ।


परामर्श त तपाइहरु कार्यालयबटनै पनि दिनुहुन्छ नि ! बिद्यार्थी र अभिभावकले के नयाँ पाउँछन जुन तपाइहरुको कार्यालयमा पाइँदैन ?
सही हो, हामी हाम्रा कार्यालयबाट वर्षभरि परामर्श सेवा दिँदै आएका छौँ। तर मेलामा आउने अनुभव फरक हुन्छ । यहाँ विद्यार्थी र अभिभावकले एउटै दिनमा विभिन्न देशका धेरै विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटेर कुरा गर्न पाउँछन्, जुन कार्यालयमा सामान्यतया सम्भव हुँदैन ।

मेलामा मात्र पाइने केही नयाँ अवसरहरू यस्ता छन्ः
 –अन–स्पट स्कोलरशिप मूल्याङ्कन वा तत्काल अफर लेटरको सम्भावना ।
-विभिन्न देश र कोर्सको प्रत्यक्ष तुलना गर्ने अवसर ।
 -विश्वविद्यालयका प्रतिनिधिबाट नयाँ नीति, भिसा अपडेट र अध्ययन अवसरबारे ताजा जानकारी ।
-विशेष अफर, आवेदन शुल्क छुट वा मेलामा मात्र लागू हुने योजनाहरू ।

यसैले, कार्यालयमा पाइने सेवा निरन्तर र व्यक्तिगत भए पनि, मेलाले एकै ठाउँमा, एकै दिनमा धेरै विकल्पको प्रत्यक्ष, अद्यावधिक र प्रतिस्पर्धात्मक जानकारी दिने विशेष सुविधा दिन्छ ।

एक दिन मात्रै मेला हुँदा सबै बिद्यार्थी तथा अभिभावकलाई समेट्न सम्भव होला र ?
हो, एक दिनमै सबै विद्यार्थी र अभिभावकलाई समेट्नु चुनौतीपूर्ण छ भन्ने हामीलाई थाहा छ । तर पहिलोपटक भएकाले हामीले यसलाई एकदिने स्वरूपमा सुरु गरेका हौँ । यस पटकको अनुभव, प्रतिक्रिया र व्यवस्थापनको आधारमा हामी आगामी वर्षबाट यसलाई कम्तीमा दुई दिनसम्म विस्तार गर्ने योजना बनाइरहेका छौँ ।
यद्यपि, हामीले मेलाको जानकारी समयमै सम्प्रेषण गरिसकेका छौँ र आफ्ना सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई उपस्थितिका लागि विशेष अनुरोध गरेका छौँ । हाम्रो उद्देश्य यो पहिलो मेला सफल बनाउने र यसलाई हरेक वर्ष अझ ठूलो र प्रभावकारी बनाउँदै लैजानु हो ।

उच्च शिक्षा बिदेशमै मात्र राम्रो हो त ? इक्यानले नेपालको उच्च शिक्षालाई किन प्रमोट गर्दैन ?

सर्वप्रथम, हामी उच्च शिक्षा भनेको देशभित्र होस् वा विदेशमा, दुवैलाई समान महत्वका साथ हेर्छौं । हाम्रो प्राथमिकता सधैं विद्यार्थीको लक्ष्य, आवश्यकता र अवसरअनुसार सबैभन्दा उपयुक्त विकल्प सुझाव दिनु हो ।

इक्यानले विगतमा पनि (क्तगमथ ष्ल ल्भउब िजस्ता अभियानहरू सञ्चालन गरेको छ, जसको उद्देश्य देशकै उत्कृष्ट विश्वविद्यालय र कार्यक्रमहरूलाई प्रवद्र्धन गर्नु हो । यसै सन्दर्भमा, यो पहिलो इक्यान काभ्रे शैक्षिक मेलामा पनि हामीले काठमाडौँ विश्वविद्यालयलाई एकेडेमिक पार्टनरका रूपमा सहभागी गराइरहेका छौँ । यसले स्पष्ट देखाउँछ कि हामी नेपालको उच्च शिक्षालाई पनि अन्तर्राष्ट्रिय विकल्पसँगै सम्मानपूर्वक प्रस्तुत गर्दैछौं ।

हाम्रो दृष्टिकोण सधैं सन्तुलित छ — विद्यार्थीलाई देशभित्र वा बाहिर, दुवैबाट उपलब्ध अवसरको स्पष्ट र निष्पक्ष जानकारी दिने ।

विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि किन बिदेश रोजिरहेका छन । नेपालमा के कुराको कमि पाउनुहुन्छ ?

विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनका लागि विदेश रोज्नुका केही प्रमुख कारण छन् । धेरै अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू विश्व ¥याङ्किङमा माथिल्लो स्थानमा छन् र त्यहाँ अध्ययनसँगै अंशकालिक रोजगारीको अवसर सजिलै उपलब्ध हुन्छ । सेवा–सुविधा विश्वस्तरको हुने भएकाले विद्यार्थीले अध्ययन, बसोबास र काममा सहज अनुभव पाउँछन् ।

त्यस्तै, विदेशमा अध्ययनको क्रममा विद्यार्थीलाई लचिलो समयतालिका, व्यवहारिक शिक्षण पद्धति, र सीप–केन्द्रित तालिमको सुविधा हुन्छ । नेपालमा भने प्रायः विश्वविद्यालयहरूमा नियमित ६ दिन कक्षा हुनु, अंशकालिक रोजगारीको अवसर सीमित हुनु, र केही क्षेत्रमा प्रशासनिक वा प्राविधिक झन्झटहरू हुनु जस्ता कारणले विद्यार्थीहरू वैकल्पिक रूपमा विदेशतर्फ आकर्षित भएका देखिन्छन् ।

हामी मान्छौँ कि यी चुनौतीहरू समाधान गर्दै गए नेपालकै उच्च शिक्षाले पनि ठूलो संख्यामा विद्यार्थीहरूलाई आकर्षित गर्न सक्छ।

फेरि मेला तर्फ फर्कौं । मेलाको तयारी सक्कियो त ? कति कन्सल्टेन्सि र कति बिदेशी शैक्षिक संस्था र प्रतिनिधि सहभागि हुनेछन ?
मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । स्थान, स्टल, प्रचार–प्रसारदेखि सबै व्यवस्थापन टिम सक्रिय रूपमा काम गरिरहेको छ । यस वर्षको पहिलो इक्यान काभ्रे शैक्षिक मेलामा २५ वटा कन्सल्टेन्सी सहभागी हुँदैछन्, जसले विभिन्न गन्तव्यका अध्ययन अवसरबारे जानकारी दिनेछन् ।
त्यस्तै, अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, जापान, कोरिया र युरोपका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरू समेत उपस्थित हुनेछन्। यसरी, विद्यार्थी र अभिभावकलाई एउटै मञ्चमा विविध गन्तव्यका प्रत्यक्ष स्रोतबाट अद्यावधिक र विश्वसनीय जानकारी पाउने उत्कृष्ट अवसर हुनेछ ।

विशेषगरि विद्यार्थीको आकर्षण कुन देशमा देखिन्छ ? मेलामा ति देशका प्रतिनिधि हुनेछन त ?
प्राय सबै गन्तव्य देशहरूमा विद्यार्थीको आकर्षण देखिन्छ । विशेषगरी, अष्ट्रेलिया, युके, कोरिया, जापान र युरोपका केही देशहरूमा विद्यार्थीहरूको चासो बढी देखिन्छ । हामीले यी देशहरूका विश्वविद्यालय र शैक्षिक संस्था साथै आधिकारिक प्रतिनिधिहरूलाई मेलामा प्रत्यक्ष सहभागी गराएका छौँ । यसले विद्यार्थी र अभिभावकलाई ताजा जानकारी र प्रत्यक्ष संवादको मौका दिन्छ, जसले उनीहरूको निर्णय प्रक्रिया अझै सहज र सटीक हुन्छ ।
र अन्त्यमा …..
अन्त्यमा म सबै विद्यार्थी, अभिभावक र शिक्षासँग जोडिएका सबै सरोकारवालालाई इक्यान काभ्रे शैक्षिक मेलामा हार्दिक स्वागत गर्दछु । यो मेला तपाईंहरूको भविष्य निर्माणको एउटा महत्वपूर्ण प्लेटफर्म हो । यसले सही जानकारी, भरोसायोग्य परामर्श र अवसरहरूको पहुँच सुनिश्चित गर्दै विद्यार्थीहरूको शैक्षिक यात्रा सहज र सफल बनाउन मद्दत गर्नेछ । हामी सबै मिलेर यस मेलालाई सफल बनाउनेछौं र आगामी वर्ष यसलाई अझ व्यापक र प्रभावकारी बनाउन प्रतिबद्ध छौं । धन्यवाद ।