पश्चिम नेपालमा मनसुन सक्रिय : चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ / मनसुनको न्यून चापीय रेखा पश्चिमी तराई नजिक सक्रिय हुँदा आगामी २४ घण्टा पूर्वी क्षेत्रभन्दा पश्चिम नेपालमा मनसुन थप प्रभावकारी हुने भएको छ । यसको प्रभावले देशभरको मौसम पूर्णतया बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भूभागमा वर्षाको सम्भावना बढी छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यही सम्भावनालाई मध्यनजर गर्दै महाशाखाले विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । भारी वर्षाले भूक्षय, पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम बढाउन सक्ने र सहरी तथा तराईका क्षेत्रमा डुबानको खतरा निम्त्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

आज राति पनि गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा जारी रहने सम्भावना छ ।