बनेपामा भोलि हुने इक्यान शैक्षिक मेलाको तयारी सकियो, २ हजार बढीले अवलोकन गर्ने अनुमान

शैक्षिक परामर्श संघ नेपाल (इक्यान) काभ्रेपलाञ्चोक शाखाको आयोजनामा जिल्लामै पहिलोपटक हुन लागेको वृहत बहुउदेश्यीय शैक्षिक मेलाको तयारी पुरा भएको छ । बनेपामा पत्रकार सम्मेलनको आयोजना गरी इक्यान काभ्रेले शैक्षिक मेला बारे जानकारी गराएको हो । मेलामा १० वटा देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन् । यस्तै २ हजार विद्यार्थीले मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।

शैक्षिक मेलाले विद्यार्थी, अभिभावक र शैक्षिक सेवा प्रदायकहरूलाई प्रत्यक्ष संवाद र विश्वसनीय जानकारीको पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिए । नेपालबाट अध्ययनका लागि विदेशीने क्रम बढ्दो छ । समयमै उचित र प्रमाणित जानकारी नपाउँदा विद्यार्थी विभिन्न समस्या झेल्न समेत बाध्य छन् । गलत सल्लाह, नक्कली परामर्शदाता, र भ्रमित गर्ने सूचना कारण विद्यार्थीहरू आर्थिक र मानसिक रूपमा हानि बेहोर्न बाध्य भइरहेको अवस्थामा यस्ता अनिश्चितता र जोखिमबाट विद्यार्थीहरूलाई बचाउन इक्यान शैक्षिक मेला महत्वपूर्ण अवसर भएको अध्यक्ष रायमाझीले बताएका छन् ।

मेलामा २५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । यस्तै अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, फिनल्यान्ड, अस्ट्रिया, नेदरल्यान्ड, साइप्रस लगायतका प्रमुख अध्ययन गन्तव्य मुलुकका विश्वविद्यालय तथा कलेजका अधिकृत प्रतिनिधिहरू पनि प्रत्यक्ष उपस्थित हुने अध्यक्ष रायमाझीले जानकारी दिएका छन् ।

इक्याले काठमाडौं विश्वविद्यालयलाई आफ्नो एकेडेमिक पार्टनरको रूपमा समावेश गरेको छ । यो साझेदारीले स्टडी इन नेपाल अभियानलाई थप बलियो बनाउँदै नेपालमै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने इक्यान काभ्रेको विश्वास छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले अध्ययनका लागि विदेशिनेको संख्या रोक्न कठिन देखिएको भन्दै वैदेशिक अध्यनको यात्रालाई सहज, सुरक्षित र पारदर्शी बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा उपाध्यक्ष शर्मिला तिमल्सिना, कोषाध्यक्ष अशोक तिमल्सिना लगायतले इक्यान शैक्षिक मेलाको तयारीको बारेमा स्पष्ट पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव बालकृष्ण न्यौपानेले गरेका थिए ।