कांग्रेस हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र होः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले नेपाली कांग्रेस आफ्नो आदर्श, मूल्य र मान्यताअनुरुप राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र एवं वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको बताएका हुन् ।

उनले नेपाल राष्ट्रिय मगर सङ्घले पार्टीका अन्य संस्थाभन्दा पहिले सङ्घीयताअनुरूप साङ्गठनिक संरचना निर्माण गरी दोस्रो महाधिवेशन गरेको विषय आफ्ना मेरो स्मरणमा रहेको उनको भनाइ थियो ।

सभापति देउवाले मगरलगायत आदिवासी जनजातिको छुट्टै पहिचान दिने र सशक्तीकरण गर्न आफ्नै नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेर बिपी कोइरालाले सुरुआत गरेको समावेशीकरणमा इँटा थप्ने काम गरेको बताए।

उनले पार्टीभित्र पछाडि परेका जातजाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाली कांग्रेसले कर्णाली, दलित, महिला, जनजाति र मधेसी समुदायका अधिकार र सहभागिता सुनिश्चित गर्न ‘कदमजम’ अभियान अङ्गीकार गरी नेपाली कांग्रेसलाई देशकै समावेशी पार्टीका रुपमा विकास गरिएकामा जोड दिएका छन् ।