बहादुरसिंह पक्षले भन्यो, हामी पार्टी भित्रकै प्रतिपक्षको भूमिकामा रहन्छौं

नेपाली कांग्रेसका बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षले आफुहरु पार्टी भित्रकै प्रतिपक्षको भूमिकामा रहने बताएको छ । पार्टी सभापति शेरबहादुर देउवाबाटै धोका भएको भन्दै लामा पक्ष असन्तुष्ट बनेको छ । आगामी रणनीति बारे छलफल भइरहेको लामा पक्षका एक नेताले बताए ।

संसदीय दलको नेतामा विश्वासको मत गुमाएपछि लामाले नियुक्त गरेका तीन मन्त्रीलाई सपथ गराउने पूर्वसहमति कार्यान्वयन हुन नसकेको असन्तुष्ट पक्षले जनाएको छ।

मुख्यमन्त्री बानियाँले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदा लामा पक्षका व्यक्तिबाट मन्त्री बनाएनन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित आठ र एमालेबाट ६ जना मन्त्री छन् । एमालेबाट ६ र कांग्रेसबाट दुई जनालाई मुख्यमन्त्री बानियाँले २७ साउनमा मन्त्री बनाएका थिए ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्रको अर्को पक्षका १४ सांसद मध्ये कुनैलाई पनि मन्त्री बनाएनन् । मुख्यमन्त्री बानियाँले सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका छन्।

पार्टी सभापतिसँग गरेको सम्झौता देउवाले कार्यान्वयन गराउन नसकेको लामा पक्षका सांसद गोविन्द लम्सालले बताए। लम्सालले भने,‘सभापति शेरबहादुर दाइसँग हामीले गरेको सहमति उल्लंघन भयो। विश्वासमा सभापतिबाट नै धोका भयो। कार्यान्वयन गराउनुभएन।’