बनेपामा ८ हजार कन्या पुजिए, गिनिज बुकमा दर्ता गर्न पहल गर्ने सभामुख पाठकको प्रतिवद्धता

बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले बनेपाको कन्या पुजालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गर्नुपर्ने बताएका छन् । काभ्रेको बनेपामा आयोजित कार्यक्रममा सभामुख पाठकले १ सय २३ वर्ष पुरानो र यति ठुलो सहभागितामा हुने कन्या पुजा नेपालमा मात्रै नभई विश्वमा कहिँ पनि नभएको बताए । कन्या पुजालाई गिनिज बुकमा दर्ता गर्नका लागि आजकै दिनबाट काम सुरु गर्नुपर्नेमा उनले जोड दिएका छन् । यसमा आफ्नो सहभागिता र सहयोग रहने उनले प्रतिवद्धता जनाएका छन् । बनेपामा मनाइने कन्या पुजा अभुतपुर्व र ऐतिहासिक रहेको उनको भनाई छ ।

कन्या पुजालाई नयाँ ढंगले अघि बढाउने समेत सभामुख पाठकले बताएका छन् । यसको प्रचारप्रसारमा जोड दिन आग्रह गर्दै उनले कन्या पुजा बनेपा वासीको मात्रै नभई विश्वको पर्व भएको बताए । गिनिज बुकमा दर्ता भएपछि कन्या पुजालाई हेर्न सन्सार भरका मानिस आउने भन्दै उनले यसले पर्यटन प्रवद्र्धनमा साथै संस्कृति संरक्षणमा सघाउने बताएका छन् ।

कार्यक्रममा बागमति प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादेले बनेपाको ऐतिहासिक जात्राले अन्धविश्वास त्यागेर सत्यलाई अनुशरण गर्नुपर्ने मुल मर्म बोकेको बताए । यस्तै कन्या पुजा लगायतका पर्व नेपालकै अमूल्य सम्पतिका रुपमा रहेको भन्दै उनले यसको संरक्षणमा निरन्तर लाग्ने बताएका छन् ।

श्रीकृष्ण जन्माअष्टमीको अवसर पारी ब्यापारीक नगरी बनेपामा १ सय २३ वर्ष देखि निरन्तरता पाई रहेको कन्यापूजा मनाइएको छ । कन्या पुजामा करिव ८ हजार सहभागी भएको आयोजकले जनाएको छ ।

सनातन कन्या पूजा प्रवन्ध समितिका उपाध्यक्ष सुरकृष्ण बैद्यले हरेक वर्ष हर्षोल्लासका साथ कन्या पुजा मनाइँदै आइएको बताए ।

कन्याहरूलाई पूजा गर्दा सु–स्वास्थ्य, शुभ–मङ्गल र सुखमय जीवनको कामना गरिन्छ । कन्याहरूलाई पूजा गर्दा उनीहरूको आर्शीवादका कारण मन हलुङ्गो हुने, आत्मसन्तुष्टि मिल्ने, इच्छा पूरा भएको र केही हराएको बस्तु पाएको जस्तो महसुस हुने गरेको विश्वास छ ।

बनेपाको अलावा, साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वर लगायतका विभिन्न स्थानमा पनि कन्या पूजा गर्न शुरु गरिएको छ । समितिमा अध्यक्ष रामगोपाल कायश्थ, उपाध्यक्ष सुरकृष्ण बैद्य, सचिव प्रकाश कायश्थ, कोषाध्यक्ष दिनेश कायश्थ, सदस्यहरुमा धु्रर्वराज कर्माचार्य, रामेश्वर श्रेष्ठ, निरञ्जुल कायश्थ, मणिराज कायश्थ, ग्रुवेन तौजले, शुभराज जोशी, प्रताप बैद्य, उदय सिं मुस्याजु छन् ।

व्यापारीक र ऐतिहासिक नगरी बनेपा र जिल्ला आसपासका विभिन्न क्षेत्रमा कृष्णजन्माष्टमीको अवसरमा कन्याहरू पुजिदै आएका छन् । कोषमा जम्मा भएको रकमको ब्याजबाट कन्या पूजाको ब्यवस्थापन हुँदै आएको छ ।