बखुण्डोलमा कृष्ण रथ सहित कन्या पुजा

बखुण्डोल, धुलिखेल/श्रीकृष्ण जन्माष्टमी, कन्या पुजा बखुण्डोल बुद्ध पार्कमा सम्पन्न भएको छ । रथ यात्रा सहित आयोजना गरिएको कन्या पुजामा बृहत्त सहभागिता थियो । पहिलो पटक कृष्ण रथ आयोजना गरिएको थियो । बखुण्डोल पार्कबाट शुरु भएको रथ यात्रा विश्वविद्यालय गेटबाट सेतिदेवी मन्दिर हुँदै परिक्रमा गरी पुनः पार्कमा आएर समापन भएको थियो ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, धुलिखेल ५ का वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठ, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयहरुको सहभागिता रहेको थियो । धुलिखेल नगरपालिका वडा नम्वर ४, बखुण्डोल बुद्धपार्क ब्यवस्थापन समिति, सामाजिक जागरण मञ्च, सेतिदेवी बहुउद्देश्यीय उपभोक्ता समुह, केयु योग साधाना केन्द्र धुलिखेल ४ लगायतले कन्या पुजा सहित कृष्ण रथ यात्राको आयोजना गरेका हुन् ।

कार्यक्रमको शुभारम्भमा नगर प्रमुख अशोक ब्याञ्जुले पर्व, संस्कृतिले समुदायको सम्वन्धलाई कसिलो बनाउने भएकाले स्थानीय पर्वहरुको ब्यवस्थापन तथा संरक्षणमा स्थानीय सरकारको प्राथमिकता रहेको बताएका थिए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बखुण्डोल बुद्धपार्कमा आयोजना हुने कृष्णअष्टमी तथा ल्होछार लगायतका कार्यक्रमहरुले समुदाय भित्रको एकता, पर्व तथा सस्कृतिको संरक्षणमा महत्वपूर्ण टेवा पुगेको बताए । वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले वडा मार्फत स्थानीय पर्व र संस्कृतिको संरक्षण गरिरहेको बताए ।
बखुण्डोल बुद्धपार्कका अध्यक्ष सत्यमान लामाले हरेक ६÷६ महिनामा बखुण्डोल बुद्धपार्कमा महत्वपूर्ण पर्वहरु आयोजना हुने गरेको बताए । अध्यक्ष सत्यमान लामाले २०७७ साल देखि नियमित रुपमा यस्ता कार्यक्रमहरु मनाउने गरिएकाले उक्त क्षेत्रको महत्व झनै बढेको बताए । २ सय भन्दा धेरै कन्याहरु उक्त अवसरमा पुजिएका थिए ।